तुरुन्तै राहदानी बनाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

विद्युतीय राहदानी (ई–पासपोर्ट) तुरुन्तै एकैदिनभित्र बनाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–५ का ३३ वर्षीय रामबहादुर बोगटी, धनकुटाको पाख्रीबास नगरपालिका–१० चुन्वाङका २८ वर्षीय श्यामकुमार राई, सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ का २२ वर्षीय राम पौडेल र काठमाडौंको गोकर्णेश्वर नगरपालिका– २ सुन्दरीजलका ४१ वर्षीय विवेक गुरुङ छन् ।

उनीहरू सबै काठमाडौं महानगरपालिका–७ चावहिल बस्दै आएका थिए । उनीहरूमध्ये गुरुङले चावहिलमा रोज बर्ड नामक फोटो स्टुडियो सञ्चालन गर्दै आएका थिए ।

उनीहरूले काठमाडौं महानगरपालिका–११ त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी बनाउन आएका सेवाग्राहीहरूलाई ई–पासपोर्टको कीर्ते अनलाइन फारम भरी ठगी गरेको आरोप छ ।

साउन ११ गते मध्याह्न १२ बजे विशेष सूचनाको आधारमा प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई राहदानी विभागबाटै पक्राउ गरेको हो ।

प्रहरीले उनीहरूको साथबाट विभिन्न व्यक्तिका नाममा भरिएको ई–पासपोर्टको अनलाइन फारम ३२ थान, ल्यापटप ३ थान, प्रिन्टर १ थान र मोबाइल ३ थान बरामद गरेको छ ।

पक्राउ परेकाहरूमाथि मुलुकी अपराधसंहिता ऐन, २०७४ को परिच्छेद–२१ को दफा २४९ ‘ठगी सम्बन्धी कसूर’ र सोही ऐनको परिच्छेद २५ को दफा २७६ ‘लिखत सम्बन्धी कसूर’ मा काठमाडाैं जिल्ला अदालतबाट चार दिनको म्याद थप अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साथै उनीहरूले अन्य व्यक्तिहरूलाई पनि ठगी गरेको हुनसक्ने भएकाले पीडितहरूलाई जाहेरी दिन प्रहरी वृत्त कालीमाटीले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *