संसदीय छानबिन समितिको प्रतिवेदन मान्य छैन : ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन मान्न नसकिने बताएका छन् ।

समितिको सो प्रतिवेदन सत्य नभएको र तथ्यमा आधारित पनि नरहेकाले त्यसलाई मान्न नसकिने पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीको भनाइ छ ।

राष्ट्रिय युवा संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तारूढ गठबन्धनकै बहुमतले तयार पारेर ल्याइएको सो प्रतिवेदनलाई नेपाली जनताले पनि अस्वीकार गर्नुपर्ने तर्क गरे । अध्यक्ष ओलीले आफ्नो पार्टीलाई सो प्रतिवेदन मान्य नहुने र जे सत्य हो, त्यसैमा अडिएर अघि बढने आफ्नो पार्टीको अडान रहेकोसमेत स्पष्ट पारे ।

समितिमा ११ जनामध्ये ७ जना आफ्नो राख्ने र अनि हुन्छ र हुन्न भनेको आधारमा सो प्रतिवेदन आएको भन्दै उनले आक्रोशसमेत व्यक्त गरे ।

अध्यक्ष ओलीले भने, ‘प्रमाणित भएन रे । ७ जनाले प्रमाणित हुनै दिएन, मानेन । अनि ७ जना आफू राखेर बहुमत र अल्पमतको फैसला । त्यो त पार्लियामेन्टमै हुन्छ/हुन्न ? गरेको भए भइहाल्थ्यो नि । गठबन्धनसँग हाल बहुमत छदैछ । त्यहाँ पनि हुन्छ/हुन्न भनेर निर्णय गर्ने भएपछि ।’

अध्यक्ष ओलीले सत्तारूढ दलहरूले देशलाई बर्बादीको दिशातिर धकेलेको उल्लेख गर्दै त्यसलाई जोगाउन पनि आगामी निर्वाचनमा एमालेले शानदार बहुमत ल्याएर सरकार बनाउनुपर्ने जिकिर गरे ।

देशलाई बचाउन, जोगाउन र अघि बढाउन एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा शानदार बहुमत ल्याएर सरकार बनाउनुपर्ने अवस्था आएको भन्दै उनले त्यसका लागि खट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर