अर्थमन्त्री कसलाई पठाउने विषयमा छलफलका लागि माओवादी केन्द्रकाे स्थायी समिति बैठक

सरकारमा पठाउने अर्थमन्त्रीको विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आइतबार बस्दैछ । पार्टी मुख्यालय पेरिसडाँडामा ३ बजे बस्ने स्थायी समितिको बैठकले अर्थ मन्त्रालयको जिम्मेवारी जनार्दन शर्मालाई पुन: पठाउने वा नयाँ व्यक्तिको चयन गर्ने विषयमा निर्णय गर्ने एक स्थायी समितिका सदस्यले बताए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा शर्मामाथि लागेको आरोपमा संसदीय विशेष छानविन समितिले सफाइ दिएकोको कारण उनलाई सो मन्त्रालयमा फर्काउने पक्षमा देखिएका छन् । शर्मा आफै भने सो मन्त्रालयमा पुन: फर्किन अनिच्छुक रहेको उनीसँग भेट्ने नेताहरुलाई बताउने गरेका छन् । ‘शर्मा आफै भने मन्त्रालय फर्किने पक्षमा हुनुहुन्न । उहाँ अन्य व्यक्तिलाई पठाउन चाहानु हुन्छ’ एक स्थायी समितिका सदस्यले भने ।

विशेष छानविन समितिले बजेट निर्माणको क्रममा अनाधिकृत व्यक्ति अर्थमन्त्रालयमा प्रवेश गरेको कुनै प्रमाण नभेटिएको भन्दै शर्मालाई सफाई दिएको छ । शुक्रबारको संसद बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले प्रस्तुत गरेको छानविन समितिको बहुमतको प्रतिवेदनमाथि प्रमुख विपक्षी दल नेकपा एमालेले फरक मत राखेको छ ।

बजेट निर्माणको क्रममा जेठ १४ गते राति अनाधिकृत व्यक्ति अर्थमन्त्रालयमा ल्याएर करको दर हेरफर गरिएको समाचार आएको थियो । त्यस विषयमा छानविन गर्न सभामुख अग्निप्रसाद सापकोटाले असार २२ गते ११ सदस्यीय  विशेष छानविन समिति बनाएका थिए । त्यस लगत्तै शर्माले संसदलाई सम्बोधन गर्दै पदबाट राजिनामा दिएको घोषणा गरेका थिए ।

आइतबारको स्थायी समितिको बैठकमा स्था‍यी र पोलिटब्युरोलाई पूर्णता दिन विषयमा पनि छलफल हुने बताइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर