भाइको रकम पचाउन महोत्तरीमा निर्वाचित वार्ड सदस्यले रचे यस्तो नाटक

आफ्नै सहोदर भाइको रकम पचाउन लुटपाटको नाटक रच्ने महोत्तरीको स्थानिय निकायका निर्वाचित वडा सदस्य आफैँ प्रहरी फन्दामा परेका छन्।

उनले आफैले घटना बुनेर प्रहरीलाई राजनीतिक दबाब समेत दिँदै अनुसन्धानलाई गुमराहमा राख्ने काम समेत गरेका थिए ।

जिल्लाको रामगोपालपुर नगरपालिका ७ सहसौलाका बासिन्दा अरुणकुमार चौधरी आफैँले रचेको बनावटी लुटपाट घटनाको फन्दामा परेका हुन्। उनी सोही नगरपालिका वडा नम्बर ७ का निर्वाचित वार्ड सदस्य समेत हुन् ।

ढाँटछल गरेर भाइको रु पाँच लाख लिने चौधरीको सपना प्रहरीको सुक्ष्म अनुसन्धानले अन्त्य गरिदिएको छ। उनी अहिले प्रहरी हिरासतमा छन्।

गत शुक्रबार साँझपख जिल्लाकै गौशाला बजारबाट घर फर्कँदै गरेका चौधरीले गौशाला २ को गौशाला सम्सी सडकखण्डको रेडक्रस भवन नजिकै आफूलाई चक्कु प्रहार गरी लुटेराले पाँच लाख रुपैयाँ नगद लुटेर लगेको प्रहरीलाई बताएका थिए।

सूचना पाएलगत्तै घटनास्थल पुगेर अनुसन्धान थालेको इलाका प्रहरी कार्यालय गौशालाले चौधरीले नाटकीय घटना रचेको पत्ता लगाएको हो।

‘लुटपाट भएको सूचना पाएपछि हामी घटनास्थल पुगेर अनुसन्धानमा लाग्यौँ, त्यो त पूरै नाटक रहेछ’, इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख तथा प्रहरी निरीक्षक रञ्जन मिश्रले भने, ‘लुटपाटको नाटक रचेर प्रहरी र परिवारजनलाई झुक्याउने चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीको तयारी गर्दैछौँ।’

अनुसन्धानबाट आफ्नै भाइले बैंक खातामा जम्मा गर्न दिएको पाँच लाख रुपैयाँ नगद पचाउन चौधरीले लुटपाटको नाटक रचेको प्रहरी अनुसन्धानबाट खुलेको हो। चौधरीले प्रहरीसमक्ष आफ्नो अपराध स्वीकार गरिसकेका महोत्तरी प्रहरी प्रमुख कृष्ण पगेनीले पर्दाफासलाई बताए ।

चौधरीले आफ्ना छरछिमेकसँग लिएको सापटी र ऋण तिर्न आफूसँग रकम अभाव भएपछि चक्कु प्रहारको कथा बुनेको स्वीकार गरेका छन्। अनुसन्धानको क्रममा प्रहरीले उनीसँग रहेको नगद राखिएको झोला नाटकीय घटनास्थल नजिकैबाट फेला परेको प्रहरीले जनाएको छ।

प्रहरी नियन्त्रणमा रहेका चौधरीले बायाँ तिघ्रामा आफैँले कोतरेर घाउ बनाएको वयान दिएको प्रहरी निरीक्षक मिश्रले बताए। चौधरी रामगोपालपुरमै मनि ट्रान्सफर सञ्चालन गर्दै आएका व्यापारी हुन्।

यसअघि हिजो शनिबार चौधरी लुटिएका समाचार सञ्चारमाध्यममा प्रसारित प्रकाशित भएका थिए। प्रहरीले शनिबार साँझ घटनाको यथार्थ अनुसन्धानबारे बताउनुअघि लुटपाट घटनाबारे समाचार बाहिरिएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर