खोटाङ केन्द्रबिन्दु भएर गएको भूकम्प पराकम्प नभई नयाँ, सामान्य क्षति

खोटाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । आइतबार बिहान ८ बजेर १३ मिनेटमा साकेला गाउँपालिका–५ मात्तिमबिर्ता केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का खोटाङसहित पूर्वी नेपालका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईका अनुसार यो भूूकम्प गोरखा भूकम्पको पराकम्प नभई नयाँ भूकम्प हो ।

खोटाङका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईंले भूूकम्पबाट सामान्य क्षति पुगेको बताए ।

‘भूकम्पको केन्द्रबिन्दु मात्तिमबिर्तामा २/४ घर चर्केको, केहीको टायल र पाली खसेको जानकारी पाएका छौं,’ सेडाईंले पर्दाफाससँग भने, ‘जनधन र पशुचौपायामा कुनै क्षति पुगेको छैन । खासै ठूलो प्रभाव छैन । सडक, विद्युत, पानी आदि सुचारु नै छन् ।’

मात्तिमबिर्ताका वडाध्यक्ष जीवन न्यौपानेले पनि भूकम्पबाट ठूलो क्षति नपुगेको जानकारी दिए ।

हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राईले वडा कार्यालयमार्फत क्षतिको विवरण उपलबध गराउन सूचना जारी गरेकी छन् ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा केही घरको पर्खालको ढुंगा खसेको वडाध्यक्ष कमल गिरीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर