‘मोस्ट वान्टेड’ दाउद इब्राहिम चिनियाँ एप टिकटकमा

भारतको मुम्बई (तत्कालिन बम्बई) मा सन् १९९३ मा २५७ को मृत्यु र १४ सय बढि घाईते हुनेगरि भएको श्रृंखलावद्व बम बिस्फोटको मुख्य आरोपी दाउद इब्राहिम कसकर सम्पत्ति शुद्धिकरण, मानव बेचबिखन तथा ओसारपसार, लागूऔषधको अन्तर्राष्ट्रिय सञ्जाल संचालन लगायत दर्जनौ अपराधमा भारतसहित विश्वका धेरै देशको खोजीमा रहेका ब्यक्ति हुन् ।

संयुक्त राष्ट्र संघले सन् २०१७ मा संयुक्त राष्ट्रसंघीय आतंकवाद विरोधी कार्यालय स्थापना गरेसँगै दाउदलाई अन्तर्राष्ट्रिय आतंकबादी संगठनलाई सहयोग गरेको भन्दै उनी र निकटका नाममा रहेको ब्यापारमा समेत प्रतिवन्ध लगाएको छ ।

यस्तै अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन–इन्टरपोलले समेत दाउदलाई भारतसहित विभिन्न देशको आग्रहमा रेड नोटिसमा राखेको छ ।

सबैले खोजी गरिरहेका कथित डी कम्पनीका प्रमुख दाउद इब्राहिम कसकर भने केही दिन अघिबाट चिनियाँ सामाजिक सञ्जाल टिकटकमा सक्रिय भएका छन् । उनकै नाम र परिचयमा डी कम्पनीको चेयरमेन भनिएको छ ।

उनको नाममा खोलिएको टिकटक खातामा यसअघि सार्वजनिक नभएका केही तस्बिर र भिडियो पोस्ट भएका छन् । यस्तै एउटा भिडियो पोस्टमा संयुक्त अरब इमिरेटसमा भएको डी कम्पनीको सम्मेलनमा दाउद भनिएको छ । यस्तै पोस्टहरुमा पाकिस्तान, संयुक्त अधिराज्य बेलायत र युएईका झण्डाहरुको प्रयोग गरिएको छ ।

यस्तै उनका पोस्टहरुमा उर्दु र अंग्रेजी भाषामा कमेन्ट गरिएको छ । अधिकांश कमेन्ट उनको समर्थनमा गरिएका छन् । र ती कमेन्टहरु अधिकांश पाकिस्तानबाट गरिएका छन् ।

एकजना विश्वकै सर्वाधिक खोजीमा रहेको आतंकबाद निकट ब्यक्तिको खाता सामाजिक सञ्जालमा संचालन हुँदा यसले पार्ने प्रभाव र यसको नियन्त्रणको विषय फेरि एकपटक चर्चामा आएको छ ।

यसअघि आतंकबादी संगठन आइएसआइएसले इराकको ठुलो हिस्सामा कब्जा जमाएपछि गरेका खुुलेआम हत्याका तस्बीर र भिडियो सामाजिक सञ्जाल मार्फत नै सार्वजनिक भएका थिए । यस्तै देशको प्रक्रियाप्रति असन्तुष्ट युवाहरुको ठुलो समूहलाई सामाजिक सञ्जाल मार्फत नै प्रभावित गर्न आइएसआइएस केही हदसम्म सफल भएको थियो ।

अन्तर्राष्ट्रिय अपराध र आतंकबाद तथा घटनाक्रमका विषयमा विशेष चासोका साथ अध्ययनगर्दै आएका नेपाल प्रहरीका अवकाशप्राप्त डीआईजी हेमन्त मल्लपनि दाउदको सामाजिक सञ्जालमा खोलिएको खाताले कालान्तरमा आइएसआइएसकै बाटो समाउने बताउछन् ।

उनले अहिलेका युवामा विभिन्न मोबाइल खेलहरु र देशको ब्यवस्थाप्रति बढ्दो असन्तुष्टिकाबीच यस्ता आपराधिक समूहप्रतिको लगाव बढ्नसक्ने अनुमान गर्छन् । उनले यसमा सम्बन्धित देश समयमै सचेत हुन आग्रह समेत गरे ।

‘अहिले आपराधीक प्रवृत्ती र घटनाक्रममा युवाहरुको लगाव बढ्न थालेको देखिन्छ,’ पर्दाफाससँगको कुराकानीमा डीआईजी मल्लले भने, ‘यसका विभिन्न कारणहरु होलान, तर यस्तोमा कहलिएका ब्यक्तिको खुलेआम सामाजिक सञ्जालको उपस्थिती रोक्नुपर्छ । ’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *