काभ्रेस्थली घटनामा ‘सुसाइड नोट’ भेटियो

काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली, पदमसालमा एकै परिवारका चार जनाको शव भेटिएको घटनामा ‘सुसाइड नोट’ फेला परेको छ ।

सोमबार बिहान उक्त स्थानमा एकै परिवारका चार जना मृत भेटिएका थिए । गोरखाको भीमसेन थापा गाउँपालिका–६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे , छोरी १३ वर्षीया आशिका पाण्डे र छोरा ८ वर्षीय आशिक पाण्डे घरमै मृत भेटिएका हुन् ।

घटनाको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीले घटनास्थलमा ४ पेजको ‘सुसाइड नोट’ भेटिएको पुष्टि गरेका छन् ।

प्रहरीले दिनेश पाण्डेले परिवारका सदस्यहरूको हत्या गरेर आफूले पनि आत्महत्या गरेको हुनसक्ने आशंका गरेको छ ।

प्रहरीका अनुसार उनीहरू गोरखाबाट आएर एक तल्ले घर बनाई पदमसालमा बस्दै आएका थिए ।

दिनेशकी छोरी आशिका दैनिक बिहान ८ बजे स्कुल बस चढेर स्कुल जाने गरेकी थिइन् । तर, सोमबार उनी स्कुल बस चढ्न नगएपछि घटनाबारे खुलेको हो ।

उनी स्कुल बस चढ्न नगएपछि बसका चालकले छिमेकीमार्फत खबर गर्दा घरको झ्याल ढोका बन्द रहेको र बोलाउँदा कसैले आवाज नदिएको भनेर स्थानीयले बिहान ९ बजे प्रहरीलाई खबर गरेका थिए ।

त्यसपछि काठमाडौं प्रहरी परिसरबाट प्रहरी उपरीक्षक, काठमाडाैं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त बालाजुबाट प्रहरी अधिकृतसहितको टोली घटनास्थल पुग्यो र घरका सम्पूर्ण झ्याल ढोकाहरू भित्रबाट चुकुल लगाएर बन्द गरेको अवस्थामा उनीहरूको शव भेटियो ।

अहिले त्रि.वि. शिक्षण अस्पतालबाट फरेन्सिक डा. गोपाल चौधरी र डा. आयुष उपाध्यायसहितको टोली पनि घटनास्थलमै छ ।

उक्त अनुसन्धान टोलीले कानूनी प्रक्रिया प्रारम्भ गरी घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर