काभ्रेस्थली घटना : श्रीमानले नै श्रीमती र छोराछोरीको हत्यापछि आत्महत्या गरेको प्रारम्भिक निष्कर्ष

काठमाडौंको तारकेश्वर नगरपालिका–२ काभ्रेस्थली, पदमसालस्थित घरमा एकै परिवारका चार सदस्यको विभत्स अवस्थामा शव भेटिएको घटनामा श्रीमानले श्रीमती र छोराछोरीको हत्यापछि आत्महत्या गरेको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको छ ।

सोमबार बिहान उक्त स्थानस्थित घरमा गोरखाको भीमसेन थापा गाउँपालिका–६ घर भई काभ्रेस्थली बस्दै आएका ४१ वर्षीय दिनेश पाण्डे, उनकी श्रीमती ३९ वर्षीया सुनिता पाण्डे , छोरी १३ वर्षीया आशिका पाण्डे र छोरा ८ वर्षीय आशिक पाण्डे घरमै मृत भेटिएका थिए ।

घटनास्थलमा फेला परेको ‘सुसाइड नोट’ र घटनाको प्रकृति हेर्दा श्रीमानले नै श्रीमती र छोराछोरीको हत्यापछि आत्महत्या गरेको प्रारम्भिक निष्कर्षमा प्रहरी पुगेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए ।

प्रहरीले मृतक चारै जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाएको छ ।

आफन्तहरूका अनुुसार दिनेश करिब १२ वर्ष कुवेतमा बसेर साढे ४ वर्षअघि नेपाल फर्किएका थिए । पदमसालमा जग्गा किनेर एकतले घर बनाएर उनीहरू त्यहाँ बस्दै आएका थिए ।

श्रीमती सुनिता र दिनेशबीच केही समयदेखि विवाद थियो र सोही कारण उनीहरूबीच झगडा हुन्थ्यो । बारम्बार झगडा भएपछि सुनिताले प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीको बालाजु वृत्तले तीन पटकसम्म दुबैलाई बोलाएर छलफल गराएको थियो । तर, उनीहरूको सम्बन्ध सुधार हुन सकेन ।

निरन्तरको विवाद र झैं–झगडाका कारण दिनेशले सुनितासँग सम्बन्धविच्छेद गर्न खोजेका थिए । तर, सुनिताले छोराछोरीको भविष्यमा असर गर्ने भन्दै सम्बन्धसविच्छेद गर्न चाहिनन् ।

सम्बन्धविच्छेदको सट्टा वैदेशिक रोजगारीका लागि प्रयास थालेकी सुनिताले बेलायतको सिजनल भिसा लागेपछि पदमसालमा सञ्चालन गर्दै आएको फेन्सी पसल बेच्नुका साथै बेचेर मेगा ड्रिम सहकारीमा रहेको पैसा निकालेर खातासमेत बन्द गरेकी थिइन् ।

दिनेशले श्रीमती र छोराछोरीको चक्कुले हानेर हत्या गरेको हुनसक्ने देखिएको प्रहरीले बताएको छ । हत्यापछि दिनेशले झुण्डिएर आत्महत्या गर्ने प्रयास गरेको देखिएको एक प्रहरी अधिकृतले बताए ।

ती प्रहरी अधिकृतका अनुसार दिनेशले श्रीमती सुनिताले आफूलाई माया नगरेको र माइतीसँग मिलेर सम्पत्ति हड्प्न खोजेकाले मर्न र मार्न बाध्य भएको ‘सुसाइड नोट’ मा उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *