मन्त्री रावल र प्रहरी महानिरीक्षक सिंहबीच भेटवार्ता, प्रदेश प्रहरी ऐनको तयारीमा सुदूरपश्चिम सरकार

सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावल र प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहबीच भेटवार्ता भएको छ । मन्त्री रावलको कार्यकक्षमा सोमबार दिउँसो उनीहरूबीच भेटवार्ता भएको हो ।

मन्त्री रावलको सचिवालयका अनुसार भेटमा उनीहरूबीच संघीय प्रहरी ऐन नबन्दा भएका समस्या, सुदूरपश्चिमको विपद् र उद्धार, प्रहरीका भौतिक पूर्वाधार निर्माण, शान्ति सुरक्षा, साइबरसम्बन्धी तालिम र लागुपदार्थ सेवनको नियन्त्रण विषयमा छलफल भएको छ ।

मन्त्री डा. रावलले प्रहरीको क्षमता वृद्धि, भौतिक पूर्वाधार निर्माणमा सहयोग गर्दा महालेखाले प्रश्न उठाउने गरेको कुरा सो अवसरमा प्रहरी महानिरीक्षकलाई बताएका थिए । प्रहरी महानिरीक्षक सिंह प्रहरी अस्पतालको उद्घाटन गर्न धनगढी पुगेका बेला मन्त्री रावललाई भेटेका हुन् ।

सोमबार नै आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री रावलले प्रदेश प्रहरी ऐन छिट्टै ल्याउने बताएका छन् ।

नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखा र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीद्वारा संयुक्त रूपमा सोमबार धनगढीमा आयोजित प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा मन्त्री रावलले प्रहरीलाई प्रदेशमा समायोजन गर्न छिट्टै प्रदेश सभाबाट ऐन पारित गरिने बताएका हुन् ।

‘संघीय सरकारलाई हामीले छिटोभन्दा छिटो प्रहरी समायोजना ऐन ल्याउन दबाब दिइरहेका छौं । प्रदेशमा शान्ति सुरक्षाका लागि पनि प्रदेश प्रहरी ऐन ल्याउनु आवश्यक छ,’ मन्त्री रावलले भने ।

उनले अहिले सो विधेयकको मस्यौदा प्रदेशसभाको विषयगत समितिमा रहेको जानकारी दिँदै विधेयकलाई छिट्टै सभाबाट पारित गरी प्रदेशमा लागू गरिने बताए ।

मन्त्री रावलले प्रहरी संघीय संरचनासँग जोडिएकाले प्रदेश मन्त्रालयको काम समन्वय मात्र गर्ने भएको बताए । उनले भने, ‘अपराधका घटनाको छिटो अनुसन्धान गर्न प्रदेश मातहत प्रहरी ल्याउन आवश्यक रहेको छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *