निर्माण सुरु भएको आठ वर्षमा पनि बनेन बालाजु-त्रिशूली सडक, तोडियो ठेक्का

काठमाडौं उपत्यकाको फोहर ढुवानी गर्ने मुख्य सडकका रूपमा रहेको बालाजु–त्रिशूली सडक निर्माण सुरु भएको आठ वर्षसम्म अलपत्र छ । पटकपटक अवधि थप्दासमेत सम्पन्न नभएपछि अहिले सडक विभागले ठेक्का तोडेको छ ।

सडक अवस्था खराब हुँदा एम्बुलेन्सलगायत अरू अत्यावश्यक सेवा प्रवाहमासमेत कठिनाइ भइरहेको स्थानीयवासी र जनप्रतिनिधिले गुनासो गर्दै आएका छन् । दुई ठेक्कामा निर्माण अघि बढाइएकोमा एउटा ठेक्कामा ठेक्का तोडिइसकिएको र अर्काेमा ठेक्का तोड्दा निर्माण व्यवसायी अदालती प्रक्रियामा गएकाले निर्माण अवरुद्ध बनेको हो ।

बालाजु–रानीपौवा सडक खण्ड निर्माणको जिम्मेवारी सन् २०१४ जुन ५ मा सैलुङ (नेपाली कम्पनी) र एआईपीएल (भारतीय कम्पनी) लाई दिइएकोमा गत असार ५ गते तोडिएको थियो । कुल १७ दशमलव एक किलोमिटर लम्बाइको सो सडक निर्माणका लागि सात पटकसम्म अवधि थप गरिएको थियो । पछिल्लो पटक चैतमा अवधि सकिएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बता्रए । सो ठेक्कामा भौतिक प्रगति ५४ प्रतिशत र वित्तीय प्रगति ४९ दशमलव ३२ प्रतिशत रहेको थियो ।

सडकको अवधि थप गरिरहँदा त्यो अवधिभित्रै सम्पन्न गर्न पटकपटक निर्माण कम्पनीलाई सचेत गराइएको विभागका महानिर्देशक थापाले बताए । उनका अनुसार सडकको नियमित मर्मत सम्भारमा ध्यान नदिएकाले वर्षाको समयमा यातायात सञ्चालनमा कठिनाइ भएर स्थानीयवासीले सास्ती भोगेका थिए ।

आठ वर्ष बितिसक्दा निर्माणस्थलमा कुनै पनि सामग्री नरहेको, कामदार नभएको र निर्माणको गतिविधि ठप्प रहेको पाइएको थियो । उनले भने, “यसअघि निर्माण भइसकेका संरचना र अरू काम पनि स्वीकार गर्न नसकिने अवस्थामा पाइएको थियो ।”

निर्माणका क्रममा समस्या देखिएपछि परामर्शदाताले पटकपटक लिखित रूपमा पत्राचार गरेर त्रुटि सच्याउन भनिएको भए पनि बेवास्ता भएको महानिर्देशक थापाले बताए । दातृ निकाय, योजना कार्यालयसँगको बैठकमा पटकपटक अवधिभित्रै सकाउँछु भने पनि निर्माण व्यवस्थापनमा कति पनि चासो नदेखाएको उनले बताए ।

सो ठेक्का तोडेसँगै योजना कार्यालयले सार्वजनिक खरिद ऐन, २०६४ र सम्झौताका आधारमा निर्माण कम्पनीलाई कालो सूचीमा राख्नका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको छ । निर्माण कम्पनीको नाममा रहेको रु. एक करोड ५५ लाख २४ हजार जमानत जफत गरी सडक विभागको खातामा जम्मा गरिएको छ । जिल्ला अदालत पाटनबाट गत असार ८ मा जारी भएको ठेक्का अन्त्य निर्णयसम्बन्धीको अन्तिम आदेश जारी भएको छ ।

चौंतीस दशमलव ०९ किमि लम्बाइको रानीपौवा–त्रिशूली सडकमा ठेक्का तोडिसक्दासम्म सो ठेक्कामा भौतिक प्रगति ४६ प्रतिशत र वित्तीय प्रगति ४१ दशमलव १३ प्रतिशत रहेको थियो । सो सडकको निर्माणको जिम्मेवारी भारतीय कम्पनी डिआरएआइपीएल, नागार्जुन, कोसी एण्ड न्यौपाने जेभीलाई दिइएको थियो ।

सन् २०१५ मा तीन वर्षमा सम्पन्न गर्नेगरी ठेक्का भएको भए पनि पटकपटक अवधि थप हुँदासमेत आधा काम पनि सकिएको थिएन । अवधि सकिँदासम्म भौतिक प्रगति ४६ प्रतिशत र वित्तीय प्रगति ४१ दशमलव १३ प्रतिशत रहेको थियो । निर्माण व्यवसायीले सुरुदेखि नै लक्ष्यअनुसारको काम गर्न नसकेर परामर्शदाता कम्पनीबाट समय समयमा लिखित तथा मौखिक रूपमा सचेत गराएको विभागका महानिर्देशक थापाले बताए ।

सुरुका दिनमा नेपाली कम्पनीले मुख्य व्यवस्थापनको काम भइरहेकामा सन् २०१८ सेप्टेम्बरबाट भारतीय कम्पनीबाट भएको थियो । दुवैले व्यवस्थापन गर्दा निर्माणमा प्रगति नभएको उनले बताए । सार्वजनिक खरिद नियमावली, २०६४ को नवौं संशोधनअनुसार एक वर्ष अवधि थपेर सन् २०२० को डिसेम्बरसम्म अवधि रहेको थियो । बन्दाबन्दीको समयमा पास उपलब्ध गराइएको भए पनि काम नगरेको उनले बताए ।

सार्वजनिक खरिद ऐन, २०६४ को व्यवस्था र सम्झौताअनुसार नै विभागले वि.सं. २०७७ मा ठेक्का अन्त्य गरेको थियो । निर्माण कम्पनी तत्काल कानूनी प्रक्रियामा जाँदा पाटन उच्च अदालतले असार १६ गते निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने र कार्यसम्पादन जमानत जफत गर्नेजस्ता कारबाही अघि नबढाउनू भनी अन्तरिम आदेश दिएको थियो ।

वि.सं. २०७८ चैत १६ गते अदालतको निर्णयअनुसार व्यवसायीको फिरादपत्र खारेज भएको थियो भने सार्वजिक खरिद अनुगमन कार्यालयले कम्पनीलाई कालोसूचीमा राखेको थियो । सो सडक स्तरोन्नतिका लागि अहिले पहिले ठेक्का गरिएको समयभन्दा १२१ प्रतिशत बढी रकम लाग्ने देखिएको विभागका महानिर्देशक थापाले बताए ।

मूल्यांकनअनुसार निर्माण कम्पनीबाट असुल गर्नुपर्ने रकम रु. ७४ करोड ७७ लाख २० हजार २११ रहेकोमा कृषि विकास बैंकबाट रु. दुई करोड २२ लाख जफत गरिएको छ । यात्रुलाई आवतजावतमा कठिनाइ भएकाले सामान्य मर्मत गरिएको विभागले जनाएको छ ।

बालाजु–रानीपौवा सडकको अदालतको निर्णय नआउँदासम्म केही गर्न नसकिने र रानीपौवा–त्रिशूली सडक ठेक्का तोडिएकाले नयाँ ठेक्काबाट जानुपर्ने सडक सुधार तथा विकास आयोजना निर्देशनालयले जनाएको छ । रानीपौवा–त्रिशूली सडकको यही आवमा काम हुने निर्देशनालयका प्रमुख रोहितकुमार बिसुरालले बताए ।

काठमाडौंबाट नुवाकोट जानका लागि टोखा–छहरे र गल्छी–त्रिशूली सडक विकल्प भए पनि यो सडक बनिनसकेकाले रानीपौवा जान समस्या भएको उनले बताए ।

उनले भने, “हामीले सकेसम्म मर्मत गरेर सडक हिँड्न हुने बनाइरहेका छौँ ।”

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर