अमेरिकी सदनकी सभामुख पेलोसीकाे ताइवान भ्रमणलाई लिएर एशिया–प्रशान्त क्षेत्रमा तनाव

अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसी एशियाली देशको भ्रमणको दोस्रो चरणकाक्रममा मलेसिया पुगेकी छन् । उनको अपेक्षित ताइवान भ्रमणले मलेसियाको भ्रमण ओझेलमा परेको छ भने अमेरिका–बेइजिङ तनाव बढाएको छ ।

सभामुख पेलोसी र उनको प्रतिनिधिमण्डल सवार विमान कडा सुरक्षाकाबीच वायुसेनाको आधार शिविरमा अवतरण गरेसँगै उनलाई संसद्मा तल्लो सदनका सभामुख अजहर अजिजान हारुनले स्वागत गरे । साथै सभामुखद्वयबीच भेटवार्ता पनि भयो । सभामुख पेलोसीले प्रधानमन्त्री इस्माइल साबरी याकोबसँगको दिवाभोजसहितको बैठक स्थगन गरेकी छन् ।

सभामुख पेलोसीको ताइवान भ्रमणको औपचारिक घोषणा भएको छैन । तर, ताइवानका स्थानीय सञ्चारमाध्यमले उनी मंगलबार राति ताइपेई पुग्ने समाचार सार्वजनिक गरेका छन् । सभामुख पेलोसी ताइपेई पुगेमा २५ वर्षभन्दा बढी समयपछि त्यहाँको भ्रमण गर्ने उहाँ उच्च श्रेणीको निर्वाचित अमेरिकी अधिकारी हुनेछिन् । अज्ञात स्रोतहरूलाई उद्धृत गर्दै ताइवानका तीन ठूला राष्ट्रिय समाचारपत्र युनाइटेड डेली न्यूज, लिबर्टी टाइम्स र चाइना टाइम्सले उनी मलेसियाको भ्रमणपछि ताइपेई पुग्ने र रात त्यहीँ बिताउने कार्यक्रम रहेको खबर प्रकाशन गरेका छन् ।

चीनले विद्रोही प्रान्तको रूपमा लिएको ताइवानलाई आवश्यक परेमा बल प्रयोग गरेर कब्जामा लिन सकिने बताउँदै आएको छ । बेइजिङले सभामुख पेलोसी ताइवान भ्रमणमा निस्किएमा आफ्नो सेना ‘चुप लागेर नबस्ने’ चेतावनी दिएको छ । चीनको बदलाको धम्कीले ताइवानमा नयाँ संकट निम्त्याउने छ, जसले विश्वव्यापी बजार र आपूर्ति शृंखलाहरू ध्वस्त पार्न सक्नेछ ।

अमेरिकी राष्ट्रपतिको कार्यालयले बेइजिङको उक्त प्रतिक्रियाको निन्दा गर्दै चीनसँगको तनावलाई चर्काउने अमेरिकाको कुनै चाहना नभएको र द्वन्द्वमा संलग्न हुन नचाहेको स्पष्ट गरेको छ । राष्ट्रपतिको कार्यालयले राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले स्वशासित टापु ताइवानको भ्रमण गर्ने वा नगर्ने निर्णय स्वयं सभामुख पेलोसीको भएको बताएका छन् । उनले अमेरिकी सांसदले वर्षौंदेखि नियमित रूपमा ताइवान भ्रमण गरेको स्मरण पनि गराएका छन् ।

उनले सभामुख पेलोसीको भ्रमणलाई बहानाको रूपमा प्रयोग गरेर बेइजिङले ताइवान वा ताइवान टापु वरपर क्षेप्यास्त्र प्रहार गर्ने वा टापुको आकाशमा उड्ने र ठूलो मात्रामा नौसेना सञ्चालन तथा अभ्यासलगायत सैन्य कारबाहीसहित उत्तेजक प्रतिकारात्मक कदम चाल्नसक्ने चिन्ताले अमेरिकी प्रशासनका अधिकारीहरू चिन्तित भएका बताएका छन् ।

लामो समयदेखि अभ्यासमा रहेको तथा अमेरिकी नीतिअनुरूप सभामुखको सम्भावित भ्रमणलाई बहाना बनाएर बेइजिङले कुनै प्रकारको संकट खडा गर्ने वा ताइवान वा त्यसको वरपर आक्रामक सैन्य गतिविधि नबढाउने विश्वास उनले व्यक्त गरेका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले पनि सभामुख पेलोसीको भ्रमण अगाडि बढेको अवस्थामा चीनलाई जिम्मेवार ढंगले काम गर्न आग्रह गरेका छन् । यदि उनले भ्रमण गर्ने निर्णय गरेमा चीनले कुनै प्रकारको संकट सिर्जना गर्ने वा अन्यथा तनाव बढाउने प्रयास गरेमा त्यो पूर्ण रूपमा बेइजिङको जिम्मेवारी हुने बताएका छन् । उनले न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको प्रधानकार्यालयमा पत्रकारहरूलाई सम्बोधन गर्दै सभामुख पेलोसीलले ताइवान भ्रमण गर्ने निर्णय गरेमा जिम्मेवार भएर प्रस्तुत हुन र द्वन्द्व चर्काउने गतिविधि नबढाउन बेइजिङलाई अनुरोध गरेका छन् ।

अमेरिकी अधिकारीहरूले भने सभामुख पेलोसीले ताइवानको भ्रमण गरेमा अमेरिकी सेनाले एशिया–प्रशान्त क्षेत्रमा आफ्नो सेनाको गतिविधि बढाउने बताएका छन् । सैनिक कारबाही तथा सञ्चालनबारे जानकारी दिँदै एक जना अमेरिकी अधिकारीले नौसेनाको विमान वाहक यूएसएस रोनाल्ड रेगन र त्यसबाट प्रहार गर्ने दस्ता सोमबार फिलिपिन्स सागरमा तैनाथ गरिएको बताएका छन् । रडार प्रणाली, लडाकु जेट, हेलिकप्टर र अन्य अत्याधुनिक हातहतियारसहितका रेगन, क्रूजर यूएसएस एन्टिएटम र यूएसएस हिगिन्स सिंगापुरको बन्दरगाहबाट आफ्नो स्थायी शिविर जापानतर्फ लागेका उनले बताए ।

सन् १९४९ मा कम्युनिस्टहरूले मुख्य भूमिमा गृहयुद्ध जितेर ताइवान र चीन छुट्टिएका हुन् । बेइजिङलाई चीनको सरकारको रूपमा मान्यता दिए पनि अमेरिकाले ताइवानसँग अनौपचारिक रक्षासहित अन्य सम्बन्ध कायम राखेको छ । बेइजिङले ताइवानसँगको अमेरिकी सम्पर्कलाई द्वीपको दशकौं पुरानो स्वतन्त्रतालाई स्थायी बनाउन प्रोत्साहन गरेको मानेको छ भने अमेरिकी नेताहरूले त्यसलाई समर्थन नगरेको बताएका छन् ।

सभामुख पेलोसीले सोमबार सिंगापुरबाट एशियाली राष्ट्रको भ्रमण सुरु गरेको भए पनि उनको सम्भावित ताइवान भ्रमणले उक्त क्षेत्रमा सनसनी मच्चाएको छ । सिंगापुरका प्रधानमन्त्री ली सिएन लुङले पेलोसीसँगको वार्तामा क्षेत्रीय शान्ति र सुरक्षाका लागि स्थिर अमेरिका–चीन सम्बन्धमा जोड दिएका थिए । जापानका विदेशमन्त्री योशिमासा हयाशीले पनि सिंगापुरका प्रधानमन्त्रीको अभिव्यक्तिको समर्थन गर्दै दुई प्रतिद्वन्द्वी शक्तिबीचको स्थिर सम्बन्ध अन्तर्राष्ट्रिय समुदायका लागि अति महत्त्वपूर्ण हुने बताएका छन् ।

फिलिपिन्सले अमेरिका र चीनलाई उक्त क्षेत्रमा ‘जिम्मेवार नायक’ हुन आग्रह गरेको छ । विदेश मन्त्रालयका प्रवक्ता टेरेसिटा डाजाले थप तनावबाट जोगिन अमेरिका र चीनले निरन्तर सञ्चार सम्पर्क सुनिश्चित गर्नुपर्नेमा जोड दिएका छन् ।

चीनले ताइवानमाथि लगातार कूटनीतिक र सैन्य दबाब बढाउँदै आएको छ । बेइजिङमा कम्युनिष्ट शासन एकमात्र वैधानिक सरकार भएकाले टापु र मुख्य भूमि मिलेर एउटै चिनियाँ राष्ट्र बन्ने दाबीलाई राष्ट्रपति साइ इङ–वेनले समर्थन गर्न अस्वीकार गरेपछि चीनले सन् २०१६ मा ताइवानको सरकारसँगका सबै सम्पर्क विच्छेद गरेको हो ।

आगामी बिहीबार सभामुख पेलोसीले दक्षिण कोरियाली राष्ट्रियसभाका सभामुख किम जिन प्योसँग एशिया–प्रशान्त क्षेत्रको सुरक्षा, आर्थिक सहयोग र जलवायु संकटबारे सोलमा वार्ता गर्ने सभामुख किमको कार्यालयले जनाएको छ । सभामुख पेलोसी जापान भ्रमणमा पनि जानेछिन् । यद्यपि, उनी कहिले त्यहाँ पुग्नेछिन भन्ने स्पष्ट खुलाइएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर