निर्दोषलाई फसाएको आरोपमा एसपी ऋषिराम कँडेलमाथि पुलिस हेडक्वार्टरको छानबिन

पश्चिम नवलपरासीका एसपी ऋषिराम कँडेलमाथि निर्दोष व्यक्तिलाई फसाएको आरोप लागेको छ । दुई भारतीय नागरिकलाई सुनियोजित रूपमा लागुऔाषधको झुटो मुद्दा लगाई फसाएको आरोपमा कँडेलमाथि प्रहरी प्रधान कार्यालयले छानबिन थालेको छ ।

कँडेलमाथि पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तासँगको मिलेमतोमा निर्दोष भारतीय नागरिक फसाएको आरोप लागेको हो ।

गत २२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिकद्वय ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई पक्राउ गरेको थियो । उनीहरूसँग दुई सय ७० सेट डाइजेपाम, नुर्फिन र फेनारगन लागुऔषध बरामद भएको प्रहरीले प्रेस रिलिजमा जनाएको थियो ।

पक्राउ परेका दुवै युवक २६ दिनदेखि प्रहरी हिरासतमा छन् । पीडितका परिवारले नक्कली मुद्दामा फसाइएको भन्दै निष्पक्ष छानबिनका लागि विभिन्न निकायमा आग्रह गरेपछि यसमा पुनः छानबिन सुरु भएको हो ।

निर्दाेषलार्ई फसाइएको उजुरीपछि प्रहरी प्रधान कार्यालयले जिल्लामा विशेष टोली पठाएर छानबिन थालेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताए ।  प्रहरी प्रधान कार्यालयका साथै लुम्बिनी प्रदेश प्रहरी कार्यालयले पनि घटनाको सूक्ष्म अनुसन्धान गरिरहेको उनले बताए ।

पक्राउ परेका भारतीय नागरिक रामा कवाडीको व्यापारमा आबद्ध व्यक्ति रहेका बुझिएको छ । प्रहरीका अनुसार नेपाल बस्दै आएका उनी र पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजुबीच विगतमा व्यावसायिक सहकार्य थियो । पछिल्लो समय बैजुले आफूसँग व्यापार नगरे फसाइदिने धम्की रामालाई दिँदै आएका थिए ।

पछिल्लो समय एक युवकले कवाडीका सामान सस्तोमा दिने भन्दै रामालाई पटकपटक फोन गरेका थिए । त्यसैका लागि उनी मोटरसाइकलमा रामग्राम नगरपालिकाको पिपरहिया पुगेका थिए । बेलुकाको समयमा लामो समय कुर्दा पनि नआएपछि उनीहरू फर्कँदै थिए र फेरि बोलाइएको थियो । जहाँ भेट्न बोलाइएको थियो, त्यहाँ लागुऔषध राखेर तत्कालै प्रहरी बोलाएर पक्राउ गरिएको थियो । प्रहरीलाई पहिले नै तयारी अवस्थामा राखिएको बुझिएको छ ।

गुप्तालाई भेट्न बोलाउने व्यक्ति रघुनाथ धोबी थिए । पूर्वप्रहरी धोबी पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसादका सहयोगी हुन् । गाउँपालिकाका अध्यक्षले नै उनलाई त्यसरी त्यो काममा खटाएको र प्रहरीलाई आफ्नो प्रभावमा पारेको स्रोतको दाबी छ ।

छानबिनमा आबद्ध एक प्रहरी अधिकारीका अनुसार गाउँपालिका अध्यक्ष गुप्ता र एसपी ऋषिराम कँडेलबीच विगतदेखि नै निकटतम सम्बन्ध देखिन्छ । त्यही सम्बन्धलाई दुरुपयोग गरी दुई भारतीयलाई लागुऔषध मुद्दामा फसाउने प्रयास भएको ती प्रहरी अधिकारीले बताए ।

तर, पश्चिम नवलपरासीका एसपी कँडेलले भने घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरे । ‘दुई जना भारतीय नागरिकलाई लागुऔषधसहित पक्राउ गरेर हिरासतमा लिएका छौं,’ पर्दाफाससँगको कुराकानीमा उनले भने, ‘उनीहरूका विषयमा अनुसन्धान भइरहेको छ । उनीहरूलाई मेरोसमेत संलग्नतामा सुनियोजित रूपमा फसाइएको भन्नेमा कुनै सत्यता छैन । ’

यता यसै विषयमा बुझ्न पर्दाफासले गाउँपालिका अध्यक्ष बैजुलाई सम्पर्क गर्दा उनका एक आफन्तले फोन उठाए । गाउँपालिका अध्यक्ष बैजुका ती आफन्तले बैजु अस्वस्थताका कारण अस्पतालमा रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *