प्रधानमन्त्रीले गरे प्रधानसेनापतिलाई सम्मान

प्रधानमन्त्री तथा रक्षामन्त्री शेरबहादुर देउवाले प्रधानसेनापति प्रभुराम शर्मालाई सम्मान गरेका छन् ।

रक्षामन्त्रीसमेत रहेका देउवाले रक्षा मन्त्रालयअन्तर्गत नेपाली सेनाको नाममा कायम रहेकाे बेरुजु फर्स्योटमा उत्कृष्ट कार्य गरी आर्थिक अनुशासन कायम गर्नमा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै केही दिनअघि प्रधानसेनापति शर्मालाई नगद पुरस्कार तथा प्रशंसापत्रले सम्मान गरेका हुन् ।

देउवाले बहालवाला प्रधानसेनापति शर्मासँगै पूर्वप्रधानसेनापति पूर्णचन्द्र थापा, बहालवाला तथा अवकाशप्राप्त रथी, अधिकृत र पदिक गरी ५२ जना र रक्षा मन्त्रालयका पूर्वसचिव, उपसचिवलगायत गरी अन्य ६ जना पदाधिकारीहरूलाई पुरस्कृत गरेका छन् ।

सो अवसरमा प्रधामन्त्री देउवाले बेरुजु फर्स्योटमा संलग्न पदाधिकारीहरूलाई बधाइ दिँदै चालु तथा आगामी आर्थिक वर्षमा समेत आर्थिक अनुशासन कायम गर्न निर्देशन दिए ।

रक्षा मन्त्रालयको २०७८ फागुन ३ र ६ गतेको निर्णयअनुसार बेरुजु फर्स्योट कार्यमा संलग्न कर्मचारीहरूलाई नगद पुरस्कार तथा प्रशंसापत्रबाट पुरस्कृत गरिएको हो ।

आर्थिक वर्ष २०७७/०७८ मा नेपाल सरकारको बेरुजु फर्स्योटको न्यूनतम लक्ष्य ४५ प्रतिशत रहेकोमा नेपाली सेनाले आफ्नो नाममा कायम भएको कुल बेरुजुको ७२.७२ प्रतिशत फर्स्योट गरेको छ ।

त्यस्तै आथिर्क वर्ष २०७६/०७७ को स्रेस्ता लेखापरीक्षण गर्दा लेखापरीक्षण अंकको ४ प्रतिशतभन्दा कम ०.१३ प्रतिशतमात्र बेरुजु कायम भई बेरुजु फर्स्योट कार्यमा उत्कृष्ट नतिजा हासिन गर्नसमेत नेपाली सेना सफल भएको हो ।

सैनिक आर्थिक प्रशासन निर्देशनालयले नेपाली सेनाको नाममा कायम रहेको बेरुजु फर्स्योट गर्न तथा आर्थिक सुशासन कायम गर्नमा विगतदेखि नै उच्चस्तरीय समन्वय तथा सहकार्य गरी उत्कृष्ट ढंगबाट कार्यसम्पादन गर्दै आइरहेको छ ।  फलस्वरूप नेपाली सेनाको नाममा रहेको करिब १३ अर्ब ४८ करोड बेरुजुमध्ये पुराना बेरुजुहरूसमेत फर्स्योट भई नगन्य बेरुजुमात्र कायम रहेको हो ।

पुरस्कार वितरण कार्यक्रममा नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागी, प्रधानमन्त्रीका सल्लाहकार जनार्दन नेपाल, रक्षा मन्त्रालयका सचिव किरणराज शर्मा, पूर्वसचिव रेश्मीराज पाण्डे, बलाधिकृत रथी बालकृष्ण कार्कीलगायत नेपाली सेनाका रथीहरू, अधिकृत, पदिक तथा रक्षा मन्त्रालयका पदाधिकारीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर