व्यक्तिगत लाभभन्दा संगठनको हित र विकासलाई प्राथमकितामा राखेर काम गर्न आईजीपी सिहंको निर्देशन

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले व्यक्तिगत लाभभन्दा संगठनको हित र विकासलाई प्राथमिकतामा राखेर आफूलाई प्राप्त जिम्मेवारी इमान्दार, कर्तव्यनिष्ठ, अनुशासित र उत्तरदायी भई निर्वाह गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिएका छन् ।

बुधबार काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको हाताभित्र नवनिर्मित कार्यालय, ब्यारेक, मेश र क्वार्टर गार्ड भवनको उद्घाटन गर्दै आईजीपी सिंहले यस्तो निर्देशन दिएका हुन् । उद्घाटनपछि प्रहरी महानिरीक्षक सिंहले भवनहरूको निरीक्षणसमेत गरेका छन् ।

प्रहरी महानिरीक्षक सिंहले अहोरात्र नागरिकको सेवामा खटिने प्रहरी कर्मचारीहरूको लागि आवास भवन आधारभूत आवश्यकता रहेको चचर्चा गर्दै आधुनिक, सुन्दर र सुविधासम्पन्न भवनहरूले उक्त गणमा कार्यरत प्रहरी कर्मचारीहरूमा जिम्मेवारी निर्वाह गर्न थप ऊर्जा र हौसला दिएको विश्वास व्यक्त गरे ।

नवनिर्मित भवनहरू सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै यी भवनहरूप्रति अपनत्वको भाव राखेर उचित संरक्षण, संवर्धन गर्दै दीर्घकालसम्म सुरक्षित राख्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उनले आग्रहसमेत गरे ।

अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापनलगायत विपद् उद्धार कार्यमा नेपाल प्रहरीले सदैव अग्रपंक्तिमा रहेर कार्यसम्पादन गर्दै आइरहेको बताउँदै प्रहरी महानिरीक्षक सिंहले अविरल वर्षा, डुबान, बाढी, पहिरोलगायत विपद्का जोखिमयुक्त क्षेत्रहरूको पहिचान गरेर आवश्यक स्रोतसाधनसहित पूर्वतयारी गरी तत्काल परिचालित हुनसक्ने अवस्थामा रहन गणमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।

मानव अधिकारको उच्च सम्मानका साथ बल प्रयोगको सिद्धान्तलाई पूर्ण पालना गरी भीड नियन्त्रण तथा व्यवस्थापनमा काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण अझ व्यावसायिक बन्दै जाने विश्वास व्यक्त गर्दै प्रहरी महानिरीक्षक सिंहले भने, ‘कतिपय अवस्थामा संयमता र धैर्यता गुमाएर गरिएको निर्णयले ठूलो मानवीय क्षति हुन गई प्रहरी आलोचित बन्नुपरेका दृष्टान्तहरू हामीमाझ प्रशस्तै छन् । त्यसकारण परिस्थितिअनुसार आवेग र उत्तेजनालाई नियन्त्रण गरी विवेकपूर्ण निर्णयबाट गरिने कानूनसम्मत प्रहरी कारबाही तर्कसंगत हुने हुँदा हामी सबैले यी विषयहरूतर्फ ध्यान दिन जरुरी छ ।’

प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नेदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा प्रहरी संगठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउन प्रहरी प्रधान कार्यालय सदैव कटिबद्ध रहेको तथा भौतिक पूर्वाधार र संरचनाहरू निर्माण गरी प्रहरी सेवालाई थप चुस्त र प्रभावकारी बनाउने विषयलाई समेत प्रहरी प्रधान कार्यालयले प्राथमिकतामा राखेको उनले बताए ।

उक्त अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रवीन्द्रबहादुर धानुकले धन्यवाद ज्ञापन गर्दै नवनिर्मित भवनहरूले गणमा कार्यरत प्रहरी कर्मचारीहरूलाई थप हौसला प्राप्त हुनुका साथै कार्यसम्पादनमा अझ बढी उत्कृष्टता आउने विश्वास व्यक्त गरे ।

कार्यक्रममा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले समसामयिक परिस्थितिअनुसार कार्यसम्पादन गर्नका लागि प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्दै जानुपर्ने उल्लेख गर्दै उपत्यकामा हुने विभिन्न आपराधिक गतिविधि नियन्त्रणमा काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गणले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा प्रहरी नायब उपरीक्षक इन्जिनियर रोशन सारूले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै उक्त भवनहरू नेपाल प्रहरीको नियमित बजेटबाट कुल २२ करोड ९० लाख ७१ हजार १ सय ९२ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको जानकारी दिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधि, समाजसेवी तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *