ताइवान मामिलामा चीनले खोज्यो नेपालको साथ

चीनले ताइवान मामिलामा नेपाल चीनसँगै रहने विश्वास व्यक्त गरेको छ । अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबारे विज्ञप्ति जारी गरेर टिप्पणी गर्दै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल एक चीन सिद्धान्तप्रतिको प्रतिबद्धतामा दृढतापूर्वक उभिने विश्वास व्यक्त गरेकी हुन् ।

नेपाल र चीन असल छिमेकी, भरपर्दा मित्र र साझेदार भएको उल्लेख गर्दै राजदूत यान्छीले दुबै देशले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डतासम्बन्धी मुद्दामा सधैँ एकअर्कालाई समर्थन गरेको स्मरण गरेकी छन् ।

‘हामी विश्वास गर्छौं कि नेपाल सरकार र यसका जनताले एक चीन सिद्धान्तको पालना गरिरहनेछन् र चीनको वैध र जायज अडानलाई बुझेर समर्थन गर्नेछन् र एकअर्काको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको रक्षा गर्न चीनसँग मिलेर काम गर्नेछन्,’ यान्छीले भनेकी छन् ।

साथै चीनले अमेरिकी सभामुख पेलोसीको ताइवान भ्रमणलाई चीनले राजनीतिक उत्तेजनाको संज्ञा दिएको छ । ताइवान विशुद्ध रूपमा चीनको आन्तरिक मामिला भएको भन्दै विज्ञप्तिमा अमेरिकालाई ताइवानमा हस्तक्षेप नगर्न भनिएको छ ।

सभामुख पेलोसीको ताइवान भ्रमणले उत्पन्न गर्ने परिस्थितिको जिम्मेवारी अमेरिकी पक्ष र ‘ताइवान स्वतन्त्रता’ पृथकतावादी शक्तिहरूले लिनुपर्ने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ ।

‘ताइवान प्रश्नमा चिनियाँ सरकार र जनताको अडान निरन्तर रहेको छ । यो राज्यको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको दृढतापूर्वक रक्षा गर्न १.४ अर्ब चिनियाँ जनताको दृढ प्रतिबद्धता हो,’ यान्छीले भनेकी छन्, ‘मातृभूमिको पूर्ण पुनर्मिलनलाई साकार पार्नु सबै चिनियाँ छोराछोरीहरूको साझा आकांक्षा र पवित्र दायित्व हो । अमेरिकी सभामुखको भ्रमणको जवाफमा चीनले निश्चित रूपमा आफ्नो सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षा गर्न सबै आवश्यक उपायहरू अवलम्बन गर्नेछ । यसबाट उत्पन्न हुने सबै नतिजाहरू अमेरिकी पक्ष र ‘ताइवान स्वतन्त्रता’ पृथकतावादी शक्तिहरूले वहन गर्नुपर्छ ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर