कोशी कटानका कारण प्रभावितहरूको राहत र उद्धारमा जुट्न मुख्यमन्त्री राईको निर्देशन

पानीको बहाव बढेर सप्तकोशी नदीले जमिन कटान गर्दा प्रभावित भएका नागरिकको उद्धार र राहतमा जुट्न प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

पानीको बहाव पश्चिमतर्फ बढ्दै सुनसरीको बराहक्षेत्र नगरपालिका र उदयपुरको बेलका नगरपालिकाका केही वडाका बासिन्दा प्रभावित बनेकोमा आफू चिन्तित भएको मुख्यमन्त्री राईले बताएका छन् ।

मुख्यमन्त्री राईले नदी तटीय क्षेत्रका बासिन्दालाई जोखिमपूर्ण स्थान छाडेर जतिसक्दो सुरक्षित स्थानमा जान आग्रह गरेको राईका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिए ।

मुख्यमन्त्री राईले नदीको बहाव बस्तीतर्फ प्रवेश गर्दा हुनसक्ने क्षतिप्रति सचेत रहन र राहत एवं उद्धार कार्यमा जुट्न स्थानीय प्रशासन, स्थानीय तह र जनप्रतिनिधि, सुरक्षाकर्मी, रेडक्रसलगायतका निकायलाई निर्देशन गरेका छन् ।

तुरुन्त राहत दिनुपर्ने अवस्थामा विभिन्न सामाजिक संघसंस्था सक्रिय हुने अपेक्षासहित मुख्यमन्त्री राईले यथेष्ट राहत र उद्धारका लागि प्रदेश नं। १ सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

मुख्यमन्त्री राई अहिले कोरोना संक्रमित भई सेल्फ आइसोलेसनमा बसेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *