काठमाडौंमा एकैदिन मापसे गरेर चलाइएका दुई स्कुलका गाडीसहित २६३ सवारीसाधनलाई कारबाही

पछिल्लो समय काठमाडौं उपत्यकामा ट्राफिक प्रहरीले अभियानकै रूपमा सञ्चालन गरिरहेको सवारी चेकजाँच तथा कारबाहीमा स्कुल बससमेत कारबाहीमा परिरहेका छन् । यहाँसम्म कि उपत्यकामा नाम चलेकै स्कुलका सवारी चालकले मदिरा सेवन गरेर गाडी चलाउने गरेको भेटिएको छ । उपत्यकाका विभिन्न स्थानमा मादक पदार्थ सेवन गरी चलाइएका दुई स्कुलका गाडीसहित एकैदिन २६३ वटा सवारीसाधन कारबाहीमा परेका छन् ।

ट्राफिक प्रहरीले बुधबार गरेको विशेष चेकिङका क्रममा २ सय ६३ जना चालक कारबाहीमा परेका हुन् ।

पानी बोक्ने सवारी साधन ७१ ओटा, एम्बुलेन्स ५ ओटा र अन्य सवारी साधन १ सय ८७ गरी जम्मा २ सय ६३ ओटा सवारी साधनका चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । जसमा मदिरा सेवन गरी सवारीसाधन चलाउने ७ जना चालकसमेत कारबाहीमा परेका छन् र तीमध्ये २ जना स्कुलका गाडी चालक रहेका छन् ।

हाइड एण्ड सिक मन्टेश्वरी स्कुल सानो भर्‍याङको प्रदेश ३ ०१ ०२३ च ३३६८ नम्बरको भ्यान चालक वीरेन्द्र तामाङ र फ्लोरोसेन्ट इङ्लिस हायर सेकेन्डरी स्कुल बानियटारको बा २ क ६५७ नम्बरको बसका चालक खिमप्रसाद पुन कारबाहीमा परेका हुन् ।

उनीहरूले मदिरा सेवन गरी स्कुलको सवारी साधन चलाएको पाइएपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारबाहीपश्चात् सम्बन्धित स्कुलका प्रधानाध्यापकलाई जिम्मा लगाएको छ ।

त्यस्तै मदिरा सेवन गरी पानी बोक्ने सवारीसाधन चलाउने चालक ३ जना र अन्य सवारी साधन चलाउने २ जना चालक समेत कारबाहीमा परेका छन् । नम्बर प्लेट नराखी चलाएको एउटा एम्बुलेन्सलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको काठमाडौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

यस्तै आरक्षण सिट कार्यान्वयन नगर्ने ७९ ओटा माइक्रो तथा बसका चालक कारबाहीमा परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट अनुगमनमा खटिएको टोलीले आरक्षण सिटको कार्यान्वयन नगर्ने सवारी चालकलाई कारबाही गरेको हो ।

काठमाडौं उपत्यकाको रत्नपार्क, स्वयम्भू, सोख्रखुट्टे, बौद्ध र जावलाखेल क्षेत्रमा चल्ने सार्वजनिक सवारी साधनमा ट्राफिक प्रहरीले अनुगमन गर्दा सवारी साधनमा छुट्याइएका आरक्षण सिटमा सम्बन्धित व्यक्तिहरू नराखेको पाइएकाले कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।

महिला, अशक्त तथा ज्येष्ठ नागरीक भनी छुट्याइएका आरक्षण सिटको कार्यान्वयन भएरनभएको सम्बन्धमा ट्राफिक प्रहरीले विशेष अनुगमन टोली नै बनाएर काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधन चेकजाँच गरी कारबाही गर्दै आएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर