ताइवानलाई घेरा हालेर चीनको युद्ध अभ्यास, चिनियाँ सञ्चार माध्यम भन्छ ‘नाकाबन्दी’

अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्सकी सभामुख न्यान्सी पेलोसीको भ्रमण लगत्तै चीनले ताइवान नजिकै पाँच दिने युद्ध अभ्यास शुरु गरेको छ । पेलोसी भ्रमणप्रति आक्रोशपूर्ण टिप्पणी गरेको चीनले ताइवानलाई घेरा हाल्ने गरि बिहीबारबाट ६ स्थानमा युद्ध अभ्यास शुरु गरेको हो । चिनियाँ जनमुक्ति सेनाको इस्टर्न थिएटरले युद्ध अभ्यास भैरहेको क्षेत्रमा पानीजहाज तथा विमानहरुलाई प्रवेश नगर्न चेतावनी दिएको छ ।

चीनले लामो दूरीसम्म मार हान्ने सक्ने हतियारको प्रयोग गरेर युद्ध अभ्यास गर्ने जनाएको छ । सैन्य अभ्यासको क्रममा ताइवान द्वीप आरपार क्षेप्यास्त्र प्रहार हुनसक्ने बताइएको छ । चिनियाँ सञ्चार माध्यमहरुले त्यसलाई नाकाबन्दी र एकीकरणअघिको रिहर्सल भनेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले चीनले सैन्य अभ्यासको नाममा ताइवानको वरिपरि भेला गरेका सैनिकले नाकाबन्दीलाई निरन्तरता दिएमा त्यसलाई अमेरिकाले कसरी हटाउँछ भन्ने विषयमा चासोका साथ हेरिएको जनाएका छन् । युद्ध अभ्यास गरिएको स्थान ताइवानी तटबाट १५ किलोमिटर नजिक रहेको बताइएको छ ।


ताइवानले सैन्य अभ्यास शुरु हुनुअघि नै २७ वटा युद्ध विमानले आफ्नो ‘एयर डिफेन्स जोन’भित्र प्रवेश गरिसकेको जनाएको छ ।
बुधबार नै ताइवानको रक्षा मन्त्रालयले आफ्नो किनमेन द्वीप नजिकै ‘अनआइडेन्टिफाइ एयरक्राफ्ट’ उडाइएको जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले त्यो ड्रोन हुनसक्ने बताएका छन् ।

अमेरिकासहित ७ वटा प्रमुख औद्योगिक राष्ट्रहरुको संगठन ‘जी ७’ का विदेशमन्त्रीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै भ्रमणको विषयलाई लिएर सैन्य तनाव बढाउन आवश्यक नभएको जनाएको छ ।

अमेरिका, बेलायत, क्यानडा, जापान, इटली, फ्रान्स र जर्मनीका विदेशमन्त्रीहरुले जारी गरेको विज्ञप्तिमा बढ्दो सैन्य गतिविधिले पुरै क्षेत्रको शान्तिमा असर पार्ने जनाएको छ ।

चीनले ताइवानलाई आफूबाट छुटिएको क्षेत्र मान्दछ तर आवश्यक परेमा सैन्य वल प्रयोग गरेर एकीकरण गर्ने बताउँदै आएको छ।

अमेरिकाले बेइजिङको दावीलाई स्वीकार गरेपनि ताइवानको यथास्थितिलाई एकपक्षीय रुपमा गरिने परिवर्तन अस्वीकार्य भएको बताउँदै आएको छ । अमेरिकाले ५१ वर्ष अघि नै ‘एक चीन नीति’लाई स्वीकार गरेको भएपनि ताइवानको अवस्थालाई एकपक्षीय रुपमा परिवर्तन गर्न हुने कारवाहीको प्रतिकार गर्ने प्रस्ताव पारित गरेको छ ।

साढे २ दशकपछि अमेरिकाका शीर्ष नेताबाट भएको यो पहिलो भ्रमण हो । पेलोसीको भ्रमणलाई चीनले सर्वभौमिकताको उल्लंघन भनेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर