कांग्रेस नेता निधि र भारतका सडक परिवहन मन्त्रीबीच भेटवार्ता

पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधि र भारतका सडक परिवहन मन्त्री नितिन गडकरीबीच भेटवार्ता भएको छ ।

सडक परिवहन मन्त्री गडकरीको निवासमा बुधबार राति भएको आधा भेटमा नेपालको भौतिक पूर्वाधार निर्माणका विषयमा छलफल भएको छ ।

भेटमा कांग्रेस नेता निधिले भारत सरकारले निर्माण कार्य अघि बढाएको अयोध्या–भिठ्ठाभोड चार लेन सडक भारतको मधुवनी जिल्लाको गिरिजास्थान (फूलहर) हुँदै नेपालको जटही सीमासम्म थपेर निर्माण गर्न आग्रह गरेका छन् ।

निधिको आग्रहपछि मन्त्री गडकरीले तत्कालै मन्त्रालय र सडक विभागका अधिकारीहरूलाई टेलिफोन गरेर जटही सीमासम्म थप सडक निर्माणलाई मन्त्रालयको कार्यक्रममा राख्न निर्देशन दिएका थिए । जटही–जनकपुर–ढल्केवर ६ लेनको सडक निधि भौतिक पूर्वाधार मन्त्री भएकै बेला सम्पन्न भएको थियो ।

यसैगरी कलकत्ता बन्दरगाहदेखि दरभंगा हुँदै नेपालको जटही सीमासम्म वैकल्पिक अन्तर्राष्ट्रिय व्यापारिक मार्ग निर्माण गर्न पनि निधिले मन्त्री गडकरीसँग आग्रह गरेका छन् ।

त्यसैगरी मन्त्री गडकरीकै निवासमा नेता निधि र भारतका जलशक्ति मन्त्री गजेन्द्र सिंह सेखावतबीच भेटघाट भएको छ । भेटमा दुबै देशको सडक, जलस्रोत, उर्जा विकास तथा बाढी नियन्त्रणलगायतका विषयमा छलफल भएको थियो ।

मन्त्री गडकरी र सेखावतसँगको भेटमा निधिसहित भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा पनि सहभागी थिए । त्यस अवसरमा राजदूत शर्माले लाइन अफ क्रेडिट र नेपालको भौतिक पूर्वाधार निर्माणमा प्राविधिक सहयोग उपलब्ध गराउने विषय अगाडि सारेका थिए ।

यस्तै नेता निधिले भारतीय जनता पार्टीका पूर्वप्रवक्ता विजय साेन्कर शास्त्रीसँग पनि भेट गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर