नेपाल प्रहरीका ४२ डीएसपी र २१ इन्स्पेक्टरले लगाए दर्ज्यानी चिह्न

नेपाल प्रहरीका ४२ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) र २१ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूले दर्ज्यानी चिह्न लगाएका छन् ।

बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

नेपाल सरकार सचिवस्तरको विभिन्न मितिको निर्णयले प्रशासन तथा प्राविधिकतर्फका विभिन्न पदमा बढुवा भएका ५७ जना तथा खुल्ला प्रतियोगिताद्वारा नवनियुक्त प्राविधिक प्रहरी निरीक्षक ६ जनाले दर्ज्यानी चिह्न पाएका हुन् ।

दर्ज्यानी चिह्न पाउनेहरूमा साउन २ गते डीएसपीमा बढुवा सिफारिस भएका जनपदतर्फका ३४ जनासमेत छन् । उनीहरूको बुढुवाविरुद्ध प्रहरी निरीक्षक विशाल भारतीले बढुवा समिति सचिवालयमा उजुरी दिएका थिए । सोही कारण उनीहरूले दर्ज्यानी चिह्न पाउन ढिला भएको थियो ।

समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाइ तथा सक्षम र सबल जनशक्ति नेपाल प्रहरीमा ल्याउन प्रेरित गर्ने अभिभावकप्रति कृतज्ञता ज्ञापन गर्दै पदोन्नतिसँगै बढेको जिम्मेवारीलाई प्रहरी अधिकृतहरूले आ–आफ्नो योग्यता अनुसारको विशिष्टिकृत विधाहरूमा उत्कृष्ट काम गर्न निर्देशन दिए ।

सबै प्रहरी कर्मचारीहरूले संगठनको मूल उद्देश्यमा केन्द्रित भई संगठनको श्रीवृद्धिमा व्यावसायिक निष्ठाका साथ अनुशासित एवं मर्यादित ढंगले काम गर्नुपर्नेमा उनको जोड थियो ।

समारोहमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव उपरीक्षक होमबहादुर थापाले प्रविधिको विकाससँगै अपराधमा देखिएका फरक शैलीले आगामी दिनहरू अझ चुनौतीपूर्ण हुने बताउँदै व्यावसायिक निष्ठा, इमानदारीता, अनुशासित र कर्तव्य निष्ठ भई त्यस्ता जटिल परिस्थितिको सामना गरी संगठनको गरिमा उच्च राख्न कटिबद्ध भई लाग्ने प्रतिबद्धता व्यक्त गरे ।

समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायब महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको उपस्थिति रहेको थियो । *यसअघि भुलवश समाचारमा त्रुटि हुन गएकोमा क्षमायाचनासहित सच्याइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर