सेना प्रमुखहरूको सम्मेलनमा भाग लिएर प्रधानसेनापति शर्मा स्वदेश फिर्ता

प्रधानसेनापति प्रभुराम शर्मा स्वदेश फर्किएका छन्। साउन ९ देखि ११ गतेसम्म अष्ट्रेलियाको सिड्नीमा आयोजित चिफ अफ डिफेन्स (चोड) मा सहभागी भएका शर्मा शुक्रबार राति स्वदेश फर्केका हुन्। शर्माको भ्रमण असार ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको थियो ।

प्रधानमन्त्री तथा रक्षामन्त्रीस्तरको असार २२ गतेको निर्णयानुसार श्रावण १२ गतेदेखि २० गतेसम्म ९ दिन अष्ट्रेलियामै रहनेगरी उनको घर बिदा स्वीकृत भएको सेनाले जनाएको छ ।

प्रधानसेनापति शर्मालाई बलाधिकृत रथी बालकृष्ण कार्कीले शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्षमा स्वागत गरेका थिए। उक्त अवसरमा नेपाली सेनाका रथीहरू तथा अधिकृतको उपस्थिति रहेको थियो।

प्रधानसेनापति शर्मा अन्तर्राष्ट्रिय सुरक्षा, वातावरण, प्रविधि, जलवायु परिवर्तन लगायतका समसामयिक विषयहरूमा भएका छलफल तथा अन्तरक्रियामा सहभागी भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। त्यसका साथै उनको चीन, नाटो र अन्य एसियाली देशका सेना प्रमुखहरूसँग समेत भेटवार्ता भएको जनाइएको छ ।

सेनाले यस किसिमको छलफल तथा अन्तरक्रियाबाट सहभागी राष्ट्रहरुका सेना र नेपाली सेनाबीच आपसी सैनिक सम्बन्ध र सद्भावमा थप विस्तार हुन गई सैनिक कुटनीतिमार्फत नेपालको परराष्ट्र नीतिलाई समेत सकारात्मक योगदान पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *