ग्लोबल आईएमईले ल्यायो सहकारी लक्षित ‘कोप कार्ड’, जहाँसुकैबाट रकम निकाल्न सकिने

ग्लोबल आईएमई बैंक लिमिटेडले राष्ट्रिय सहकारी बैंक लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेडसँगको सहकार्यमा सहकारीहरूको लागि ‘कोप कार्ड’को सेवा सुरुवात गरेको छ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सहकारीहरूको लागि सहकारी पहिचानसहितको ‘कोप कार्ड’को सुरुवात गरेकी हुन्।

यो कार्ड अन्तर्राष्ट्रिय स्तरको चिप कार्ड र कन्ट्याक्टलेस प्रविधिमा आधारित हुनेछ भने नेपाल र भारतका एटीएम तथा पीओएसमार्फत जुनसुकै स्थानबाट सहजै चलाउन सकिने बैंकले जनाएको छ।

यो कार्ड ग्लोबल आईएमई बैंकको प्रायोजनमा राष्ट्रिय सहकारी बैंकमार्फत सहकारीहरूले जारी गर्नेछन्। यस सहकार्यपश्चात् मुलुकभरका करिब ३३ हजार सहकारीहरूले सजिलै राष्ट्रिय सहकारी बैंक लिमिटेडमा सम्पर्क गरी कोप कार्ड जारी गर्न सक्नेछन्।

सहकारीहरूले आफना सदस्यहरूलाई कोप कार्डको वितरण गरेपछि सहकारीमा आबद्ध सदस्यहरूले आफ्नो सहकारीको खाताबाट जुनसुकै बेला जहाँबाट पनि एटीएमबाट रकम निकाल्न सक्नेछन् भने पीओएसको माध्यमबाट कुनै पनि सेवा वा वस्तु खरिद गरी भुक्तानी गर्न सक्नेछन्।

यसले सहकारी सदस्यहरूको सहकारीप्रतिको विश्वास बढ्दै जाने, नगद कारोबार कम भएर औपचारिक रूपमा बचत परिचालन हुने र वित्तीय सेवा चौबीसै घण्टा उपलब्ध हुने बैंकको भनाइ छ।

कोप कार्ड प्रयोग गर्ने ग्राहकहरूले ग्लोबल आईएमई बैंकको २६६ एटीएमबाट रकम निकाल्दा कुनै शुल्क नलाग्ने बैंकले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर