प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि दल दर्ता सुरु

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने एकै चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आइतबारदेखि दल दर्ता सुरुआत गर्ने भएको छ ।

आयोगले प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन आयोगमा यही साउन १९ गतेसम्म दर्ता कायम रहेका राजनीतिक दललाई साउन २२ देखि ३१ गतेसम्म दल दर्ताका लागि निवेदन दिन सूचित गरेको हो ।

निवेदन दिँदा दलसम्बन्धी विवरण, दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, आयोगमा दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मितिलगायत विवरण खुलाउनुपर्ने छ ।

यसैगरी दलको केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति, राजनीतिक दलको संगठनात्मक स्वरूप केन्द्रीयस्तर र प्रदेशस्तरको छ/छैन, त्यसको जानकारी खुलाउनुपर्ने आयोगले जनाएको छ । दल दर्ताका लागि प्रतिनिधि सभा सदस्यका लागि अनुसूची–१२ बमोजिम र प्रदेश सभा सदस्यको हकमा प्रदेशगत रूपमा सातवटा प्रदेशका लागि छुट्टाछुट्टै अनुसूची–१२ बमोजिमको निवेदन पेस गर्नुपर्नेछ ।

राजनीतिक दलसम्बन्धी ऐनबमोजिम दुई वा दुईभन्दा बढी दलले एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि राजनीतिक दलसम्बन्धी नियमावली बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने आयोगद्वारा जारी सूचनामा उल्लेख छ ।

दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, दलको विधान, नियमावली तथा घोषणापत्र, आर्थिक वर्ष २०७७/७८ को वार्षिक लेखापरीक्षण प्रतिवेदनलगायतका आवश्यक कागजात पेस गर्नुपर्नेछ र दलको प्रमुख पदाधिकारीले दस्तखत गरी पेस गर्नुपर्नेछ ।

यसैगरी उम्मेदवारलाई दलको औपचारिक पत्र प्रदान गर्नेगरी पदाधिकारी तोकिएको केन्द्रीय समितिको निर्णयसहित तोकिएको ढाँचामा पदाधिकारीको नाम थर, पद र सम्पर्क नम्बरसहितको दस्तखत नमुना पेस गर्नुपर्नेछ ।

दल दर्ताका लागि संविधानबमोजिम राजनीतिक दलको विधान र नियमावली लोकतान्त्रिक हुनुपर्ने, राजनीतिक दलको विधानबमोजिम कम्तीमा पाँच वर्षमा एकपटक सो दलको संघीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन भएको हुनुपर्ने र दलको विभिन्न तहका कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिबिम्बित गर्नेगरी समावेशी प्रतिनिधित्वको व्यवस्था गरिएको हुनुपर्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर