
कांग्रेस नेता निधि र मध्यप्रदेशका मुख्यमन्त्री चौहानबीच भेटवार्ता


भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र भारतको मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहानबीच भेटघाट भएको छ ।
मध्यप्रदेशको राजधानी भोपालस्थित मुख्यमन्त्रीको कार्यालय बल्लभ भवनमा भएको भेटमा दुई देशबीचको धार्मिक, सांस्कृतिक, पर्यटन एवं आर्थिक विकासको सहयोगका विषयमा कुराकानी भएको थियो ।
सोह्र वर्षदेखि मध्यप्रदेशको मुख्यमन्त्री रहेका चौहानलाई कांग्रेस नेता निधिले नेपालको काठमाडौं, जनकपुर र लुम्बिनी भ्रमणको निम्तो दिएका छन् । जवाफमा उनले निकट भविष्यमै नेपाल भ्रमण गर्ने बताएको निधिका प्रेस सल्लाहकार रामजी दाहालले जानकारी दिए ।
नेता निधि र राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का महामन्त्री दत्तात्रेय होसबोलेबीच पनि भेटघाट भएको छ । मध्यप्रदेशको राजधानी भोपालको साकेत नगरस्थित वैद्य प्रदीप त्रिपाठीको निवासमा भएको एक घण्टा लामो भेटमा नेता निधि र होसबोलेबीच अयोध्यामा निर्माणाधीन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलावासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्ने विषयमा कुराकानी भएको थियो ।
महामन्त्री होसबोले सत्तारूढ भारतीय जनता पार्टीको भ्रातृ संगठन अखिल भारतीय विद्यार्थी परिषद्को महामन्त्री भएर काम गरिसकेका छन् । इन्दिरा गान्धीको शासनकालमा भारतमा संकटकाल जारी हुँदा उनी १६ महिना जेल बसेका थिए ।
- विकासको गतिमा देश अगाडि बढेको छ : प्रधानमन्त्री
- मन्त्रालय र प्राधिकरणबीचको विवादबाट नेपालसंग पर्याप्त बिजुली नभएको स्पष्ट भयो : इप्पान
- सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक बहुमतले पारित
- सांसद चन्दको प्रश्न- शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विधेयक कता हरायो
प्रतिक्रिया