भैंसेपाटी सडक निर्माण सुरु भएको ६ वर्षसम्म अलपत्र परेपछि स्थानीयले गरे सडक बन्द

नख्खुखोला–भैंसेपाटी–बुङमती सडक आयोजना निर्माण सुरु भएको ६ वर्षमा पनि सम्पन्न नभएको भन्दै स्थानीयले लगातार दुई दिन सडक नै बन्द गरेका छन्।

सडक विस्तार पीडित समूहको आयोजनामा शनिबार बिहान ८ देखि ११ बजेसम्म र आइतबार बिहान सोही समय भैंसेपाटी, बुङमती, खोकना, छम्पीलगायतका बासिन्दाहरूले सडकमा अवरोध सिर्जना गरेका हुन्।

२०७३ साउन १४ मा निर्माण कम्पनी आशिष–बिरुवा–सीएम जे/भीसँग २८ महिनाभित्र निर्माण सम्पन्न गर्नेगरी सडक आयोजनाको ठेक्का सम्झौता भएको थियो। सडक विभागको भ्याटसहित २८ करोड ६२ लाख ४९ हजार ७ सय ७७ रुपैयाँ ७६ पैसा लागतमा ठेक्का लागेको थियो।

तर, ६ वर्ष बित्दा पनि निर्माण अलपत्र परेको छ। पटकपटक म्याद थप गर्दासमेत निर्माणमा ठेकेदार कम्पनीले लापरवाही गरेपछि स्थानीयले दबावस्वरूप सडक नै बन्द गराएका हुन्।

खाल्डाखुल्डी र धुवाँधुलोयुक्त मूलसडकमा अनियन्त्रित टिप्पर गुडाईबाट हैरान स्थानीयले आइतबार सरकारी बेवास्ता र ठेकेदारको लापरबाहीको विरोधमा दैनिक सडक बन्द गर्ने कार्यक्रम आयोजना गरेका थिए।

स्थानीयको दबावपछि बिहान ११ बजे ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, ललितपुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष अजरमान जोशी, आयोजना प्रमुख कृष्ण ओझा, ठेकेदार शान्तकुमार श्रेष्ठ, वडा अध्यक्षद्वय दामोदर खड्का, दौलत खत्री, महानगरपालिकाका बोर्ड सदस्य विकासकुमार रोक्का, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायत सम्मिलित बैठकले तत्काल काम सुचारु गराई यथाशीघ्र निर्माण सम्पन्न गर्ने वातावरण तयार गर्ने सहमति गर्‍यो।

बैठकमा आयोजना प्रमुख तथा ठेकेदारले सोमबार बिहानदेखि नै बाटोको खाल्डाखुल्डी पुर्ने र बाँकी काम दशैं अगाडि सम्पन्न गर्ने लिखित सहमति पत्र ठेकेदारले आयोजना प्रमुखलाई बुझाउने र आयोजना प्रमुखले सम्बन्धित वडा अध्यक्षहरूलाई लिखित पत्राचार गर्ने निर्णय भयो।

सो सहमतिसँगै स्थानीयले तत्कालका लागि सडक बन्द स्थगित गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर