अख्तियारमा उजुरीको चाङ : २० दिनमै झन्डै १५ सय उजुरी दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्ने क्रम बढ्दै गएको छ । आयोगको केन्द्रीयसहित विभिन्न स्थानमा रहेका कार्यालयमा चालु आर्थिक वर्षको साउन २० गतेसम्ममा एक हजार ४३२ उजुरी परेका छन् ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार लिखित ५५७, हुलाकमार्फत २७२, इमेलमार्फत २५३, वेबसाइटमार्फत १९३, टेलिफोनमार्फत ८४, समाचारमार्फत ३६, फेसबुकमार्फत १०, भाइबरमार्फत २ र अन्य २५ उजुरी परेका छन् ।

आयोगको कञ्चनपुरस्थित कार्यालयमा ९५, पोखरामा ७०, बुटवलमा ६७, नेपालगञ्जमा ४१, बर्दिबासमा ९२, सुर्खेतमा ९४, हेटौंडामा ८५, इटहरीमा ९४ र आयोगको मुख्य कार्यालय टंगालमा ७९४ उजुरी परेका हुन् ।

आयोगले चालु आर्थिक वर्षको २० दिनमा घुस मागेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक उपसचिव र दुई अधिकृत छन् ।

यही साउन १ देखि साउन २० गतेसम्ममा अख्तियार दुरुपयोग अनुसन्धान अयोगको कार्यालय, टंगाल तथा त्यस मातहतका कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

साउन १८ गते आन्तरिक राजस्व कार्यालय, महाराजगञ्जमा कार्यरत कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानलाई आयोगको टोलीले घुससिहत पक्राउ गरेको थियो । प्रधानले कम्प्युटर बिलिङको सफ्टवेयर स्वीकृतिका लागि सेवाग्राहीसँग रु. तीस हजार घुस मागेको उजुरी परेपछि आयोग टोलीले रकमसहित उनलाई पक्राउ गरेको आयोगका प्रवक्ता भण्डारीले जानकारी दिए ।

यस्तै साउन १७ गते सेवाग्राहीबाट घुसबापत लिएको रु. ६ लाखसहित र स्रोत नखुलेको रु. १६ लाख ५० हजारसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपाल पक्राउ परे । आयोगको टोलीले नेपाललाई नागपोखरीस्थित एक होटेलबाट घुस रकमसहित नियन्त्रणमा लिएको थियो । त्यससम्बन्धी अनुसन्धान अघि बढेको प्रवक्ता भण्डारीले बताए ।

त्यस्तै चालु आवकै पहिलो दिन साउन १ गते कैलालीको मोहन्याल गाउँपालिकाका अधिकृत दीपेन्द्र बुढा क्षेत्रीलाई कञ्चनपुरस्थित आयोगको टोलीले रु. ३० हजार घुससहित पक्राउ गरेको थियो । घोडाघोडी नगरपालिका–१ स्थित नवरत्न होटेलबाट ३० हजार घुस रकमसहित उनी पक्राउ परेका थिए । सेवाग्राहीको रकम भुक्तानी दिने क्रममा रु. ३० हजार घुस माग गरेको भन्ने उजुरीका आधारमा उनी पक्राउ परेका हुन् ।

आयोगले आव २०७८/७९ मा भ्रष्टाचार भएको भन्दै १३१ अरोपपत्र विषेश अदालतमा दायर गरेको थियो । सार्वजनिक निकायमा हुने भ्रष्टाचारको उजुरीको आधारमा आयोगले अनुसन्धानपछि आरोपपत्र दायर गरेको हो । चालु आर्थिक वर्षको साउन २० गतेभित्र आयोगले छ आरोपपत्र दायर गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर