आईजीपी सिंहले गरे पुलिस स्कुललाई योगदान गर्ने शिक्षक र प्रहरी कर्मचारीलाई सम्मान

प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले नेपाल पुलिस स्कुल साँगाको परिसरमा नवनिर्मित एकेडेमिक ब्लक, मेस भवन र दुईवटा पुरुष छात्रावास भवनको उद्घाटन गरेका छन्।

सोमबार आयोजित एक समारोहबीच आइजीपी सिंहले ती भवनहरूको उद्घाटन गरेका हुन्। उद्घानपछि उनले नवनिर्मित भवनहरूको निरीक्षणका साथै नवनिर्मित इकेडेमिक ब्लक परिसरमा वृक्षरोपणसमेत गरे।

प्रहरी महानिरीक्षक सिंहले उक्त स्कुलमा लामो समयसम्म आबद्ध रही योगदान पुर्‍याएबापत कदर गर्दै शिक्षक उद्वव कार्कीलाई डीबी लामा टिचर्स अवार्ड–२०७८ र नगदसहित सम्मान गरे।

यसैगरी उनले २५ वर्षभन्दा लामो अवधिसम्म विद्यालयमा योगदान गर्ने शिक्षक तथा कर्मचारीहरू सुरेन्द्र वाग्ले, कृष्णबहादुर विष्ट, श्यामसुन्दर सापकोटा, कृष्णराज अर्याल, शम्भुप्रसाद निरला, हरिहर तिमिल्सिना, राजकुमार नेपाल, निरबहादुर थापा र राजकुमार पोखरेल तथा हाल कार्यरत शिक्षकहरू हरिभक्त कार्की, सञ्जोक अधिकारी, रबिना श्रेष्ठ, शिवहरि थापालाई कदरपत्रले सम्मान गरे।

त्यस्तै तुल्सीभक्त कन्सट्रक्सन प्रालि, तारा निर्माण सेवा र ब्राइट कन्सट्रक्सन प्रालि एवं प्रहरी विद्यालयमा कार्यरत ५ जना प्रहरी कर्मचारीहरूलाई समेत आईजीपी सिंहले कदरपत्र प्रदान गरेका छन्।

समारोहमा आईजीपी सिंहले गुणस्तर र प्रभावकारी शिक्षा प्रवर्द्धनमा भौतिक पूर्वाधारको महत्त्वपूर्ण भूमिका हुने चर्चा गर्दै नवनिर्मित भवनहरूबाट विद्यार्थीहरूको शैक्षिक वातावरण, बसोबास र मेश सुविधाहरूमा उल्लेखनीय अभिवृद्धि हुने विश्वास व्यक्त गरे। शिक्षा प्रणालीलाई थप समयसापेक्ष, परिस्कृत र प्रयोगात्मक बनाउँदै अभिभावकको चाहना र राष्ट्रको आवश्यकता पूरा गर्न दक्ष एवं सुयोग्य जनशक्ति उत्पादनमा नेपाल पुलिस स्कुल एक अनुकरणीय र सफल विद्यालयको रूपमा स्थापित हुनुपर्नेमा उनले जोड दिए।

साथै उनले नेपाल प्रहरी अपराध अनुसन्धान तथा नियन्त्रण र शान्ति सुरक्षा व्यवस्थापनका अतिरिक्त सामाजिक, कल्याणकारी र सेवामुखी कार्यहरूमा समेत सक्रिय रहँदै आएको बताए। स्कुलको विकासका लागि आवश्यक पर्ने भौतिक संरचनालगायत विविध पक्षको स्तरोन्नति गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाल पुलिस स्कुललाई नेपालकै उत्कृष्ट स्कुलको रूपमा स्थापित गर्न क्रियाशील रहेको उनले बताए।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक अरुणकुमार बीसीले प्रहरी आईजीपी सिंहलाई विद्यालय व्यवस्थापन समितिको तर्फबाट मायाको चिनो प्रदान गरे।

सोही स्कुलका निमित्त प्राचार्य सुरेन्द्र वाग्लेले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा विद्यालयका समादेशक प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले धन्यवाद ज्ञापन गरेका थिए। साथै नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी निरीक्षक इन्जिनियर शम्भुप्रसाद कोइरीले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए।

उक्त भवनहरू नेपाल पुलिस स्कुल साँगाको आन्तरिक स्रोत, नेपाल प्रहरी कल्याण कोषको ऋण सहयोग तथा नेपाल सरकारको तर्फबाट राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कोषको सहयोग गरी कुल २१ करोड ३४ लाख ३२ हजार ७ सय ४६ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो। कुल ६३,८६३/७२ वर्गफिट क्षेत्रफलमा निर्माण गरिएका उक्त भवनहरू २०७६ मंसिर १८ गते सुरु भई विभिन्न चरणमा सम्पन्न भएका हुन्।

नेपाल पुलिस स्कुल साँगाका विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको उक्त समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, बनेपा नगरपालिकाका प्रमुख, काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी नायब महानिरीक्षकहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल, नेपालका वरिष्ठ प्रहरी अधिकृतहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, स्थानीय तहका प्रतिनिधिहरू, शिक्षक तथा विद्यार्थीहरू, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरूलगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *