दरबारमार्ग र न्यूरोडमा जग्गाको मूल्य आनाकाे ६६ लाख !
चक्रपथभित्र खाली जग्गा पाउन मुस्किल छ । बढ्दो शहरीकरणका कारण खाली जग्गासमेत क्रमशः भरिँदै गएको छ । मुख्य शहरको रूपमा चित्रित नयाँसडक, दरबारमार्ग, बानेश्वरलगायतका स्थानमा जग्गा भेटिनै मुस्किल छ ।
उता मालपोत कार्यालयहरूले भने ती स्थानको पनि जग्गाको न्यूनतम मूल्यांकन गर्ने गरेका छन् । भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले चालु आवका लागि मुख्य शहरी क्षेत्रभित्रका जग्गाको न्यूनतम मूल्यांकनको विवरण सार्वजनिक गरेको छ । डिल्लीबजार मालपोत कार्यालयकै क्षेत्रभित्र पर्ने दरबारमार्ग, नयाँसडक, बानेश्वरलगायतका क्षेत्रको जग्गाको सरकारी मूल्यांकन के कति होला भन्ने आम मानिसमा चासो रहन सक्छ । त्यसमाथि काठमाडौं उपत्यकाभित्रको सबैभन्दा महँगो मानिएको क्षेत्र कहाँ होला भन्ने जिज्ञासा पनि स्वाभाविक रूपमा नै रहन सक्छ ।
काठमाडौं उपत्यकाभित्र नौवटा मालपोत कार्यालय छन् । तीमध्ये छवटा मालपोत कार्यालय त काठमाडौं जिल्लामा नै छन् । तीमध्ये शहरी क्षेत्रभित्र कार्यक्षेत्र रहेको मालपोतमा डिल्लीबजार मालपोत कायालय पर्छ । नयाँ आर्थिक वर्ष सुरु हुने बित्तिकै हरेक मालपोत कार्यालयले आ–आफ्नो कार्यक्षेत्रभित्रका जग्गाको न्यूनतम मूल्यांकनसम्बन्धी विवरण सार्वजनिक गर्छन् ।
मालपोत ऐन, २०३४ अनुसार डिल्लीबजारको कार्यक्षेत्रमा रजिष्ट्रेशन हुने लिखतमा थैली अंक कायम गर्ने प्रयोजनका लागि जग्गाको न्यूनतम मूल्यांकन समितिले न्यूनतम मूल्यांकन गरेको हो । सरकारी निकायबाट भएको मूल्यांकनभन्दा बजारमा कारोबार भने दशौं गुणा बढीमा हुने गरेको छ ।
शहरी क्षेत्रभित्र सबैभन्दा महँगो जग्गा भने नयाँसडक, ठमेल, दरबारमार्ग, रत्नपार्क, पुरानो बसपार्क, जमललगायतका क्षेत्रको जग्गा रहेको छ । मालपोत कार्यालयले तय गरेको मूल्यांकनअनुसार हनुमानढोका पूर्व नयाँसडक, पुरानो नगरपालिका भवनको दक्षिणचोकबाट जुद्ध शमशेर सालिक हुँदै इन्द्रचोकसम्म नयाँ सडक पीपलबोटदेखि दक्षिण आरबी कम्प्लेक्स चोक हुँदै पश्चिम पुरानो नगरपालिका भवन चोकसम्म, नयाँसडक खिचापोखरी, धरहरासम्मको मूल सडकमा जोडिएका जग्गाको प्रतिआना मूल्यांकन मात्रै ६६ लाख रुपैयाँ बराबर तोकिएको छ ।
यस्तै केशरमहल प्रवेशद्वारदेखि पश्चिम ठमेल मूलचोक हुँदै क्षेत्रपाटी चोकसम्मको मूल बाटोमा जोडिएका जग्गा, हनुमानढोका जिल्ला प्रहरी कार्यालय पूर्व सूरज आर्केड, इन्द्रचोक, असन हुँदै भोटाहिटी चोकसम्म, असन चोकदेखि जमल, राष्ट्रिय नाचघरसम्म र सोदेखि पूर्वविश्वज्योति हल हुँदै तीनधारा पाठशालासम्म मूलबाटो जोडिएका महेन्द्र सालिकदेखि काठमाडौं प्लाजासम्म मूल सडकको दायाँबायाँ क्षेत्रका जग्गाको सरकारी मूल्यांकन पनि प्रतिआना ६६ लाख रुपैयाँ बराबर नै तोकिएको छ ।
माइतीघर–सिंहदरबार पीश्चम गेट–पुतलीसडक कृष्ण पाउरोटी हात्तीसार, जयनेपाल कान्तिपथ, जमल दरबारमार्ग र घण्टाघरदेखि कमलादी मोडसम्मका मूल सडकसँग जोडिएका जग्गाको दायाँबायाँको पनि प्रतिआना ६६ लाख रुपैयाँ रहने गरी प्रस्ताव गरिएको छ । जमल रानीपोखरी, वीर अस्पताल, नेपाल वायुसेवा निगम गोश्वारा हुलाक त्रिपुरेश्वरसम्मको मूल सडकसँग जोडिएका जग्गाको दायाँबायाँको पनि प्रतिआना ६६ लाख रुपैयाँ नै न्यूनतम मूल्यांकन तोकिएको छ ।
रत्नपार्क पुरानो बसपार्क सहिदगेट हुँदै सुनधारा चोकसम्म, सिंहदरबार पीश्चमगेट हुँदै भद्रकालीसम्मका मूलबाटोमा जोडिएका जग्गाको दायाँबायाँ पनि प्रतिआना ६६ लाख रुपैयाँ नै न्यूनतम मूल्यांकन हुनेगरी निर्धारण गरिएको छ ।
चःमती जग्गा एकीकरण आयोजनाको मूल सडकसँग जोडिएका जग्गाको नयूनतम मूल्यांकन प्रतिआना २८ लाख ६० हजार, नयाँबजार नगरविकास आयोजनाका जग्गाको प्रतिआना २६ लाख ४० हजार रुपैयाँ बराबर तोकिएको छ ।
प्रतिक्रिया