रेणुका शाहलाई न्यायाधीश नियुक्त र बर्खास्त गर्ने निर्णयको सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले बर्खास्तीमा परेकी उच्च अदालत तुल्सीपुरको बुटवल इजलासकी न्यायाधीश रेणुका शाहको रिटमा सक्कल फाइल झिकाउन आदेश दिएको छ।

२०७५ चैत १९ गते उच्च अदालतको न्यायाधीश नियुक्त भएकी शाहलाई ‘योग्यता नपुगेको’ भन्दै न्याय परिषद्ले असार २४ गते बर्खास्त गर्ने निर्णय गरेको थियो। परिषदको सिफारिसका आधारमा कामु प्रधानन्यायाधीश दीपक कार्कीले शाहलाई पदबाट बर्खास्त गरेका थिए।

आफूलाई बर्खास्त गर्ने न्याय परिषद्को निर्णयविरुद्ध शाहले गत बिहिबार सर्वोच्चमा रिट दर्ता गराएकी थिइन् । उक्त रिटमा सोमबार शाह पक्षका कानुन व्यवसायीको बहस सुनिसकेपछि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले उनको नियुक्ति र बर्खास्तीको निर्णयसम्बन्धी तथा व्यक्तिगत सक्कल फाइल इजालासका दिन झिकाउन आदेश दिएको हो।

शाहको तर्फबाट वरिष्ठ अधिवक्ताहरू सतीशकृष्ण खरेल, बाबुराम कुँवर, सुरेन्द्र भण्डारी र सुरेन्द्र महतो तथा अधिवक्ताहरू मेघराज पोखरेल, भीमार्जुन आचार्य र रमणकुमार कर्णले बहस गरेका थिए ।

सर्वोच्चद्वारा जारी आदेशमा भनिएको छ, ‘निवेदिका रेणुका शाहलाई उच्च अदालतको न्यायाधीश पदमा नियुक्तिको लागि मिति २०७५/१२/१९ मा र निजलाई सो पदबाट हटाउने सम्बन्धमा मिति २०७९/३/२४ मा न्याय परिषद्बाट गरिएको सिफारिस निर्णयसम्बन्धी सक्कल फाइल तथा निजको व्यक्तिगत फाइल न्याय परिषद् सचिवालयबाट पेशीका दिन इजलास समक्ष देखाई फिर्ता लैजाने गरी झिकाउने।’

यस्तै सर्वोच्चले अधिवक्ता सल्लु तिवारीको रिटमा २०७६ साल जेठ २६ गते सर्वोच्चले गरेको निर्णयको सक्कल फाइल पनि अभिलेख शाखाबाट मगाएको छ।

रेणुका पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद शाहकी छोरी हुन्। उच्च अदालतमा नियुक्त हुन १० वर्ष निरन्तर कानुन व्यवसायमा रहेको हुनुपर्ने प्रावधान भए पनि सीटीईभीटीकी कर्मचारीका रूपमा कार्यरत साहलाई न्यायाधीश बनाइएको थियो। उनको अयोग्यतमाथि प्रश्न उठेपछि न्याय परिषद्ले छानबिन गरेर अयोग्यता ठहर गर्दै बर्खास्त गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर