सशस्त्र प्रहरीलाई सधैं छाप्राको बास, वर्षायाममा बाढी र सर्पको त्रास

भारतसँग सीमा जोडिएका कञ्चनपुरका २० वटा स्थानमा रहेका सशस्त्र प्रहरीका बोर्डर आउट पोस्ट (बीओपी)मध्ये ६ वटाबाहेक अन्यमा भौतिक संरचनाको अभाव छ ।

वर्षातका बेला सीमा क्षेत्रमा खटिने सशस्त्र प्रहरीलाई बस्नकै लागि भरपर्दो भौतिक संरचना नहुँदा सास्ती खेप्न बाध्य छन् । पुर्नवास, बेलौरी, देवीस्थान, भुडा, ब्रम्हदेव, पचुइमा मात्रै बस्नका लागि भवन रहेका छन् । अन्य बीओपीमा बस्नका लागि टेन्ट र कच्ची संरचना रहेका छन् ।

अधिकांश बीओपी बस्नलायक नभएको बताइएको छ । वर्षातका बेला टेन्ट र छाप्रामा बस्नुपर्दा हतियार जोगाउनै सशस्त्र प्रहरीलाई मुस्किल छ । टेन्ट र छाप्रा चुहिनेसँगै डुबानमा समेत पर्ने भएकाले सशस्त्र प्रहरीलाई निकै सास्ती छ । अर्कातिर गर्मीयाममा सर्पको बिगबिगी बढ्ने भएकाले त्यसको चिन्ता पनि छँदैछ ।

वर्षात् आउनुअगावै टेन्टमा रहेका बीओपीमा बस्ने जवानका लागि नयाँ टेन्टको व्यवस्था गरिएको सशस्त्र प्रहरी बल ३५ नम्बर गण झलारीका सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर ऐरले बताए । ‘टेन्ट पुराना भइसकेका थिए,’ उनले भने, ‘जगेडा रहेका टेन्ट उपलब्ध गराएका छौं ।’

जग्गा प्राप्ति नहुँदासम्म केन्द्रले बजेट नदिने व्यवस्थाका कारणले भौतिक संरचना बनाउन नसकिएको उनको भनाइ छ । ‘सबै ठाउँमा जग्गा प्राप्तिको प्रक्रिया चलिरहेको छ, केन्द्रबाट बजेट आएपछि भौतिक संरचना निर्माण गर्छौं,’ उनले भने ।

दुईवटा फरवार्ड अब्जरभेशन क्याम्पका लागि भने बोलपत्र भएको उनले बताए । वर्षातका बेला खल्ला मुसेट्टिलाई छाडेर सबै ठाउँमा गाडीमा पुग्न सकिने उनको भनाइ छ । उनका अनुसार पाँचदेखि सात किलोमिटरको दूरीमा बीओपी राखिएका छन् ।

‘पाँचदेखि सात किलोमिटरमा बीओपी छन्, बीओपी स्थापना भएपछि सीमामा हुने आपराधिक गतिविधि कम भएका छन्,’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर