निर्वाचन सुरक्षार्थ नेपाल प्रहरीले माग्यो ७५१ वटा गाडी, सशस्त्र तयारी गर्दै

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको निम्ति नेपाल प्रहरीले ७ सय ५१ वटा गाडी खरिदको प्रस्ताव गरेको छ ।

निर्वाचन सुरक्षाका लागि हलुका तथा ठूला सवारी साधन पर्याप्त नरहेको बताउँदै प्रहरीले ठूलो संख्यामा गाडी खरिदको प्रस्ताव राखेको हो ।

गत स्थानीय तहको निर्वाचनअघि पनि प्रहरीले गाडी खरिदको प्रस्ताव गरेको थियो । त्यतिबेला सवारीसाधन खरिदका लागि बजेट माग गरे पनि सरकारले भाडामा सवारीसाधन ल्याउन बजेट छुट्याएको थियो ।

प्रहरी प्रधान कार्यालयले गृहमा बुझाएको विवरणअनुसार अहिले प्रहरीलाई एक हजार पाँच सय ९८ मोटरसाइकलको अभाव छ । साना सवारी साधन एक हजार तीन सय ८४ अपुग रहेको बताइएको छ ।

सात सय ५३ स्थानीय तहमा रहेका प्रहरीसँग एक हजार पाँच सय २९ साना र एक सय ५४ ठूला सवारी साधन रहेको विवरण देखाइएको छ ।

गृह मन्त्रालयका प्रवक्ता सहसचिव फणिन्द्रमणि पाेखरेलले निर्वाचन प्रयाेजनका लागि नेपाल प्रहरीबाट सवारी साधनलागयत सामग्रीको प्रस्ताव आएको र त्यसका लागि आवश्यक बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाइएको बताए ।

‘प्रहरीले निर्वाचन प्रयोजनका लागि आवश्यक सामग्रीबारे प्रस्ताव पठाएको छ,’ पर्दाफाससँग उनले भने, ‘प्रस्तावअनुसारको सामग्रीका लागि आवश्यक बजेट अर्थ मन्त्रालयसँग माग  गरेका छौं । सशस्त्रको प्रस्ताव आउन बाँकी छ।’

यता सशस्त्र प्रहरीले भने निर्वाचनका लागि आवश्यक सवारी साधनलगायत सामग्री र जनशक्तिको विषयमा तयारी गरिरहेको जनाएकाे छ ।

सशस्त्र प्रहरी बल, नेपालको मुख्यालयका एक उच्च अधिकारीले उपत्यका र सात प्रदेशमा रहेका गरी आठवटै बाहिनीलाई पत्र लेखेर आवश्यक सामग्री र जनशक्तिबारे जानकारी माग गरिएको बताए । बाहिनीहरूबाट विवरण प्राप्त भएपछि गृह मन्त्रालयमा बुझाइने ती अधिकारीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर