विशाल सिमेन्टका पूर्वसञ्चालक अमित श्रेष्ठ जेल चलान

भर्चुअल मुद्रा (क्रिप्टो करेन्सी) मा लगानी तथा कारोबार गरेको पाइएपछि पक्राउ परेका विशाल सिमेन्टका पूर्वसञ्चालक अमित श्रेष्ठ जेल चलान भएका छन्।

श्रेष्ठविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार ४८ करोड ४ लाख ७२ हजार ५४८ रुपैयाँ बिगो मागदाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

श्रेष्ठले राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ को उपदफा (१) र (२) बमोजिमको कसुर गरेको अभियोगपत्रमा दाबी गरिएको थियो। श्रेष्ठलाई ७ वर्ष कैद सजायको समेत मागदाबी गरिएको थियो।

उक्त मुद्दामा मंगलबार बहस पैरवीपछि काठमाडौं जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न ओदेश दिएसँगै उनलाई डिल्लीबजार कारागार पठाइएको छ।

उनका बारे नेपाल राष्ट्र बैंक ऐन, २०५८ र विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ बमोजिम नेपालमा भर्चुअल मुद्राको कारोबार पूर्ण रूपमा गैरकानुनी रहेको भन्दै राष्ट्र बैंकले २९ साउन २०७४ मा सूचना प्रकाशित गरेको थियो।

श्रेष्ठले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्थाविपरीत गैरकानुनी रूपमा भर्चुअल मुद्राको कारोबार गरेको अभियोगपत्रमा दाबी गरिएको छ। श्रेष्ठले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५ बमोजिमको कसुर गरेको अभियोगपत्रमा उल्लेख छ। दफा ९५ बमोजिमको कसुर गरेको भन्दै उनीविरुद्ध दफा ९६ को उपदफा (१) अन्तर्गत बिगोको ३ गुणासम्म जरिवाना र ७ वर्षसम्म कैद सजाय मागदाबी गरिएको हो।

नेपालमा गैरकानुनी मानिएको क्रिफ्टो करेन्सीमार्फत् अवैध रूपमा आर्जन गरेको र नेपालबाट हुण्डीमार्फत् विदेशमा रकम पठाएर सञ्चित गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ। श्रेष्ठले क्यानडा, अस्ट्रेलियालगायतका देशहरूका बैंकमा रकम जम्मा गरेको अनुसन्धानबाट खुलेको छ।

उनको साथबाट बरामद भएका २ थान मोबाइल तथा २ थान ल्यापटप अपराध अनुसन्धान विभागको डिजिटल फरेन्सिक ल्याबबाट परीक्षण गर्दा ठूलो रकमको कारोबार भएको देखिएको थियो।

श्रेष्ठको कमनवेल्थ बैंक अफ अस्ट्रेलियामा १ लाख ९४ हजार २ सय ८५.५६ डलर तथा रोयल बैंक अफ क्यानडामा १८ लाख ७४ हजार ४ सय २१.३८ डलर कारोबार भएको पाइएको छ।

यस्तै रोयल बैंक अफ क्यानडाबाट शेयर कारोबारसमेत गरेको देखिएको, एभरेस्ट बैंक लिमिटेडको खाताबाट २ करोड ६ लाख ६ हजार ६ सय ९२ र एनआईसी एशिया बैंकको खाताबाट ६५ लाख २४ हजार ९ सय १०९ गरी नेपालमा विभिन्न कम्पनीमा शेयर लगानी रहेको पाइएको प्रहरीले जनाएको छ।

क्रिप्टो करेन्सीको कारोबार गरेको भन्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत असार २९ गते श्रेष्ठलाई काठमाडौंबाट पक्राउ गरेको थियो। अनुसन्धानका क्रममा उनले हुण्डीमार्फत् विदेशमा रकम पठाएकोसमेत भेटिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर