अपराधको बदलिँदो शैलीले थपिँदै सुरक्षा चुनौती, अनुसन्धान प्रविधिमैत्री हुनुपर्नेमा जोड

प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, नक्साल र बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको संयुक्त आयोजनामा ‘बागमती प्रदेशस्तरीय अपराध अनुसन्धान गोष्ठी–२०७९’ मंगलबार सम्पन्न भएको छ । बाग्मती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णप्रसाद शर्मा खनालको प्रमुख आतिथ्यतामा कार्यक्रमको समुद्घाटन गरिएको थियो ।

अपराध अनुसन्धानमा बढेका चुनौतिहरू र त्यसको समाधानका उपायहरू पत्ता लगाउन अपराध अनुसन्धानमा नयाँनयाँ प्रविधिको प्रयोग गर्ने, बाग्मती प्रदेशभित्रका अपराध अनुसन्धान गर्ने इकाइहरूको वर्तमान अवस्था, विद्यमान जनशक्ति तथा स्रोत र साधनहरूबीचको अधिकतम परिचालन एवं अन्तर कार्यालयबीच समन्वयको विकास गर्ने उद्देश्यले गोष्ठी आयोजना गरिएको बाग्मती प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले बताए ।

कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री खनालले पछिल्लो समय अनपराधिक प्रवृत्तिमा परिवर्तन हुँदै गइरहेकाले अनुसन्धान अधिकृतको क्षमता विकास एवं प्रविधिमूलक अपराध अनुसन्धानका लागि अनुसन्धानमा प्रयोग हुने स्रोत साधनको व्यवस्थापनमा जोड दिए । त्यसैगरी सामान्य किसिमका अपराधमा संलग्न कसुरदारलाई वैकल्पिक कारागारको अवधारणाअनुसार त्यस्ता व्यक्तिहरूलाई राज्यका विभिन्न विकास निर्माणका कार्यमा लगाउन सकिने र यसका लागि प्रदेश मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताए ।

कार्यक्रममा बोल्दै बागमती प्रदेशका मुख्य न्यायाधिवक्ता श्यामनारायण श्रेष्ठले पछिल्लो समय अपराधको ‘ट्रेन्ड’मा परिवर्तन आएको र यसको क्षेत्र फैलिँदै गइरहेकाले प्रहरीलाई थप चुनौती थपिएको हुँदा प्रहरीले समेत आफूलाई सोहीअनुसार तयारी अवस्थामा राख्नुपर्ने बताए । तथ्यपरक अनुसन्धानमा संकलन गरिएका प्रमाणहरूको परीक्षण र सोको रिपोर्ट केन्द्रबाट मात्र प्राप्त हुँदा अनुसन्धानमा ढिलाइ पाइएको हुँदा प्रदेशस्तरसम्म प्रमाण परीक्षणको व्यवस्था मिलाउनका साथै हिरासतको सुधार गर्ने र अपराध नियन्त्रणमा स्कुले विद्यार्थीहरूलाई सचेतना दिन अपरिहार्य रहेको उनले बताए ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख एआईजी उत्तमराज सुवेदीले अपराध अनुसन्धान गर्ने तल्लो इकाइमा वास्तविक अनुसन्धानमा देखिएका समस्याको बारेमा जानकारी लिने र समस्या समाधानमा कोशेढुंगाको रूपमा यस गोष्ठी रहने विश्वास व्यक्त गरे । अपराधको प्रकृति र प्रवृत्ति परिवर्तित हुँदै गइरहेको तथा अहिलेका अपराधीको ‘ट्र्याक रेकर्ड’ समेत नपाइएकाले प्रहरीले अबको अनुसन्धान प्रविधिमैत्री हुनुपर्ने बताए । उनले हरेक नागरिकले आफ्ना सन्ततिलाई नैतिक शिक्षा अनिवार्य दिनुपर्ने विषयमा जोड दिए ।

चितवनका जिल्ला न्यायाधीश रितेन्द्र थापाले अपराध अनुसन्धानका तीन अवयवहरू अनुसन्धान (प्रहरी), अभियोजन (सरकारी वकिल) र न्यायालयबीच निरन्तर समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए । उनले अनुसन्धान नै न्याय निरुपण (फैसलाको) प्रमुख आधार भएको हुँदा प्रहरीले यसलाई बढी संवेदनशील भई अनुसन्धानमा विशेष ध्यान दिनुपर्ने बताए । कतिपय केसहरूमा अनुसन्धान फितलो हुनुका साथै प्रहरीको प्रविधिमैत्री अनुसन्धान कमजोर रहेको पाइएकाले यसतर्फ साधनस्रोत व्यवस्थापनलगायत दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्ने उनले बताए ।

कार्यक्रममा चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले अपराध अनुसन्धान क्षेत्रलाई विशिष्टिकृत गरी मुद्दा शाखामा काम गर्ने प्रहरी कर्मचारीहरूलाई उत्प्रेरित गर्नुपर्नेमा जोड दिए । कानुनमा व्यवस्था गरिएका कार्यहरू गर्नको लागि राज्यले सहयोग गरेमा मात्र प्रविधिमैत्री अनुसन्धानमा सहयोग पुग्ने हुँदा सरकारले अपराध अनुसन्धानका क्षेत्रमा सहयोग गर्नुपर्ने उनले बताए ।

त्यसैगरी उच्च सरकारी वकिल कार्यालय हेटौंडाका सहन्यायाधिवक्ता सन्देश श्रेष्ठले प्रहरीको क्षमता अभिवृद्धि गर्नुका साथै अनुसन्धानमा सरोकार राख्ने निकायसँगको समन्वय र सहकार्यमा जोड दिए ।

कार्यक्रममा बोल्दै प्रदेश प्रहरी प्रमुख किरण बज्राचार्यले अपराध गर्ने बदलिँदो शैली एवं आवरण, फैलँदो आपराधिक सञ्जाल तथा अन्तर्राष्ट्रिय अपराध र संगठित अपराधको संख्यामा उल्लेख्य रूपमा वृद्धि हुँदै गइरहेकाले प्रहरीले प्रविधिमूलक अपराध अनुसन्धानमा जोड दिई अपराध अनुसन्धानमा प्रमुख तीन पिल्लरको रूपमा रहेको अनुसन्धान, अभियोजन र न्याय निरूपणको एक आपसमा समन्वय र सहकार्यमार्फत मात्र पीडितले न्याय र वास्तविक पीडकले सजाय पाउने कुरामा जोड दिए ।

पहिलो चरणको समुद्घाटन कार्यक्रममा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले स्वागत मन्तव्य प्रस्तुत तथा कार्यक्रमबारे प्रकाश पार्ने कार्य गरेका थिए भने बाग्मती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्यले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए । उक्त कार्यक्रमको दोस्रो चरणको कार्यक्रममा बाग्मती प्रदेशअन्तर्गतका ६ वटा जिल्ला प्रहरी कार्यालय प्रमुखहरूले अपराध अनुसन्धानको समग्र वस्तुस्थिति र अनुसन्धानमा गरिएका नवीन प्रयोगहरूको विषयमा प्रस्तुतीकरण दिएका थिए ।

पहिलो चरणअन्तर्गतको समुद्घाटन समारोहमा बाग्मती प्रदेशका मुख्य न्यायाधिवक्ता श्यामनारायण श्रेष्ठ, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूराेका प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदी, जिल्ला अदालत चितवनका जिल्ला न्यायाधीश रितेन्द्र थापा, चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, आन्तरिक मामिला तथा कानुन सचिव नारायणप्रसाद शर्मा, उच्च सरकारी वकिल कार्यालय हेटौंडाका सहन्याधिवक्ता सन्देश श्रेष्ठ, प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्य, प्रहरी नायब महानिरीक्षक सन्दीप भण्डारी, प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल, प्रहरी वरिष्ठ उपरीक्षकहरू, जिल्ला सुरक्षा समिति चितवनका पदाधिकारीहरू, बागमती प्रदेशअन्तर्गत जिल्लाहरूका प्रहरी प्रमुखहरू, जिल्ला न्यायाधिवक्ता महेश प्रसाद खत्री, विभिन्न संघसंस्थाका पदाधिकारीहरू, संचारकर्मीहरूलगायत बाग्मती प्रदेशअन्तर्गत मुद्दा चल्ने इकाइका प्रहरी एवं अनुसन्धान अधिकृतहरूको उपस्थिति रहेको रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर