न्याय परिषद् सचिवालयमा तोडफोड, एक पक्राउ

न्याय परिषद् सचिवालयमा तोडफोड भएको छ। तोडफोडमा संलग्न नूरप्रसाद अधिकारीलाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले पर्दाफासलाई बताए।

‘तोडफोड भएको भन्ने जानकारी आएपछि एक जनालाई नियन्त्रणमा लिएका छौं। थप अनुसन्धान भइरहेको छ,’ एसपी मैनालीले भने।

न्याय परिषद् सचिवालयका सचिव देवेन्द्रराज ढकालले अधिकारीले आफूले न्याय नपाएको भन्दै कार्यालय तोडफोडका साथै कर्मचारीमाथि कुटपिटसमेत गर्न खोजेको बताए।

‘उहाँ दिउँसो करिब २ बजेतिर कार्यालय आउनुभएको थियो,’ उनले पर्दाफाससँग भने, ‘आफूले न्याय नपाएको भन्दै कार्यालय तोडफोड गर्नुभयो र कर्मचारीलाई कुटपिटसमेत गर्न खोज्नुभयो। त्यसपछि प्रहरीलाई खबर गर्‍यौं र उहाँलाई पक्राउ गरेर लगियो।’

सचिव ढकालका अनुसार माओवादी जनआन्दोलन कालमा अधिकारीका भाइको हत्या भएको थियो। न्यायका लागि उनका बुबा अनसनमा बसेका थिए र उनको अनसनकै क्रममा मृत्यु भएको थियो। सोही विषयमा हालसम्म न्याय नपाएको भन्दै अधिकारीले कार्यालय तोडफोड गरेको सचिव ढकालले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर