प्रहरी कर्मचारीको सरूवा, बढुवा, कार्यसम्पादन मूल्यांकन पारदर्शी हुन्छ : आईजीपी सिंह

प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले प्रचलित कानूनको अधीनमा रही नेपाल सरकार र प्रहरी संगठनको नीति र उद्देश्यअनुरूप प्रभावकारी रूपमा पुलिसिङ गर्नु नेपाल प्रहरीको मुख्य कार्य रहेको बताएका छन् ।

आफ्नो कार्यकालको १०० दिन पुगेको अवसरमा बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाट तथा समसामयिक विषयमा छलफल एवम् अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरूद्वारा राखिएका जिज्ञासाको जवाफ दिँदै प्रहरी महानिरीक्षक सिंहले उक्त कुरा बताएका हुन् ।

प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीहरूको सरुवा, बढुवा, कार्यसम्पादन मूल्यांकनलगायतका हरेक काम संगठनको प्रणालीअनुरूप पारदर्शी रूपमा भएको बताउँदै सांगठनिक सुधारको लागि ८ वटा लक्ष्य सहित कार्ययोजना–२०७९ लागूसमेत गरिएको उल्लेख गरे । मिटरब्याजी, तस्करी, वित्तीय अपराध, सिमावर्ती अपराध, जघन्य अपराध, विद्युतीय अपराध, जबरजस्ती करणीलगायतका अपराध रोकथाम तथा नियन्त्रणमा प्रहरीले अझ सक्रिय भई कार्यसम्पादन गर्ने उनले बताए ।

प्रहरी संगठनको श्रीवृद्धि तथा सुदृढकीरणको लागि आगामी दिनमा समेत सञ्चार जगतबाट रचनात्मक सहयोग, सुझाव र समन्वयको सदैव अपेक्षा रहेको उनले बताए । प्रहरी महानिरीक्षक सिंहले आफ्नो कामको सिलसिलामा प्रहरी कर्मचारीहरू कुनै पनि किसिमको दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्ने बताए । कानूनभन्दा कोही पनि माथि नभएको भन्दै प्रहरी कर्मचारीहरू प्रहरी आचरण तथा व्यावसायिकताभन्दा बाहिर गएमा कारबाही गरिने उनले बताए ।

प्रहरी महानिरीक्षक सिंहले हालै एकै चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरीका कर्मचारीहरूले देखाएको व्यावसायिकताप्रति खुसी व्यक्त गर्दै निर्वाचन शान्तिपूर्ण, भयरहित एवम् विश्वसनीय वातावरणमा सम्पन्न भएको चर्चा गरे । साथै उनले आउँदो प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई समेत शान्तिपूर्ण तवरले सम्पन्न गर्नको लागि प्रारम्भिक चरणका कार्यहरूसमेत थालनी भइसकेको बताए ।

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंह र उपस्थित सञ्चारकर्मीहरूबीच समसामयिक बिषयमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

कार्यक्रमको सुरुमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले गत आर्थिक वर्ष २०७७/०७८ र चालु आर्थिक वर्ष २०७८/०७९ को त्रैमासिक तुलनात्मक अपराध तथ्यांक, नेपाल प्रहरी कार्ययोजना–२०७९ एवम् प्रहरी महानिरीक्षकको १०० कार्य दिनमा गरिएका नीतिगत कार्य तथा सुधारका कार्यक्रम, अपराध अनुसन्धान, प्रविधिको प्रयोग, प्रहरी कार्य, विपद् उद्धार, समन्वय र सहयोग, मानवस्रोत विकास, प्रहरी प्रशासन, भौतिक पूर्वाधार, नेपाल प्रहरी अस्पताल तथा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा प्रहरीको सहभागितासम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।

उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरूलगायत प्रहरी अधिकृतहरूका साथै विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *