देशभरका मिटरब्याज पीडितहरूलाई उजुरी दिन सरकारको आग्रह

सरकारले देशभरका मिटरब्याज पीडितहरूलाई उजुरी दिन आह्वान गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनमा गृहमन्त्रीस्तरीय निर्णयबाट मिटरब्याजसम्बन्धी अपराध नियन्त्रणका लागि कार्यदल गठन भएकाे भोलिपल्ट शनिबार गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै देशभरका मिटरब्याज पीडितहरूलाई भदौ ५ गतेसम्ममा उजुरी दिन भनेको हो। पीडितहरूलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा तथ्य प्रमाणसहित उजुरी दिन आग्रह गरिएको छ।

कार्यदलका संयोजक डा. भीष्मकुमार भूसालले जारी गरेको सूचनामा कार्यदल गठन भएको एक घण्टाभित्रै मिटरब्याजसम्बन्धी अपराध नियन्त्रणका लागि काम सुरु गरिसकेको उल्लेख छ। उनका अनुसार शुक्रबार नै नवलपरासी पश्चिमको प्रतापपुर र सुस्ता गाउँपालिकाबाट संगठित भई काठमाडौं माइतीघर मण्डला क्षेत्रमा धर्ना दिँदै आएको ‘मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति’सँग जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारीसमेतको उपस्थितिमा कार्यदलले वार्ता गरिसकेको छ।

‘मिटरब्याजीहरूले निरक्षर, गरिब तथा आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरूमाथि गरेको शोषणको शृंखलाले सयौं परिवारको विचल्ली भएका समाचारहरू सार्वजनिक भइरहेका छन्। त्यस्ता आर्थिक अपराधीहरूलाई कानुनको दायरामा ल्याई कारबाही गर्ने प्रक्रिया पनि चलिरहेको छ तर पनि अझै धेरै पीडितहरूले आफ्नो पीडा सार्वजनिक गर्न वा कानुनी उपचारको लागि पहल गर्न नसकेको अवस्था छ,’ सूचनामा उल्लेख छ।

मिटरब्याजसम्बन्धी समस्या तराईका अधिकांश जिल्लामा रहेको गुनासो प्राप्त भए पनि देशैभरि मिटरब्याजीको जालो फैलिएको हुनसक्ने भएकाले सबै पीडितहरूबाट उजुरी आह्वान गरिएको गृह मन्त्रालयले जनाएको छ।

गृह मन्त्रालयले जारी गरेकाे सूचना :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर