प्रसिद्ध लेखक रुस्दी आक्रमणको इरानमा प्रशंसा र चिन्ता, सरकार भने मौन

इरानीहरूले उपन्यासकार सलमान रुस्दीमाथि भएको आक्रमणको मिश्रित प्रतिक्रिया दिएका छन् । केहीले आक्रमणको प्रशंसा गरेका छन् भने केहीले चिन्ता व्यक्त गरेका छन् । इरान सरकार भने मौन रहेको छ ।

‘म सलमान रुस्दीलाई चिन्दिनँ । तर, इस्लामको अपमान गरेपछि उनीमाथि हमला भएको सुन्न पाउँदा खुसी छु,’ रेजा अमिरीले भनेकी छन् । उनको पुस्तक ‘सटानिक भर्सेस’ ले इस्लामलाई कलंकित गरेको अमिरी बताउँछिन् । इरानका तत्कालीन सर्वोच्च नेता अयातोल्लाह रुहोल्लाह खोमेनीले उनको मृत्युका निम्ति आह्वान गरेको दशकौं पुरानो फतवाको लक्ष्यलाई आक्रमणकारीले अनुसरण गरेकामा उनी हर्षित छिन् ।

भूगोल शिक्षक महशिद बारती भने रुस्दीमाथि भएको आक्रमणबाट चिन्तित छन् । विश्व समुदायबाट इरानलाई एक्लो पार्न लेखकमाथि आक्रमण भएको उनी ठान्छन् । रुस्दी आक्रमणले पश्चिमा देशहरूको प्रतिबन्ध खेपिरहेको इरानलाई रूस र चीनबाट पनि टाढा पार्नसक्ने उनलाई लाग्छ । इरानको आणविक कार्यक्रमलाई लिएर अमेरिकासहितका देशले तेहरानमाथि जारी राखेको प्रतिबन्धतर्फ संकेत गर्दै बारतीले त्यसो भनेका हुन् ।

सन् १९८० को इरान–इराक युद्धले देशको अर्थतन्त्रलाई ध्वस्त पारेपछि आफ्नो जीवनको उत्तरार्द्धतिर स्वास्थ्य जटिलता झेलेका खोमेनीले सन् १९८९ मा रुस्दीमाथि फतवा जारी गरेका थिए । सटानिक भर्सेसलाई लिएर मुस्लिम संसारमा हिंसात्मक हंगामा भएपछि उनीमाथि मृत्युदण्डको फतवा जारी भएको थियो । उक्त उपन्यासले पैगम्बर मोहम्मदको निन्दा गरेको उनीहरूको निष्कर्ष थियो ।

लेखक रुस्दीमाथि अमेरिकाको पश्चिमी न्युयोर्कमा शुक्रबार आयोजित एक प्रवचन कार्यक्रममा आक्रमण भएको हो । आक्रमणकारीले उनको घाँटी र पेटमा चक्कुले प्रहार गरेको थियो । प्रवचनका लागि मञ्चमा जान लागेका ७५ वर्षीय रूस्दीमाथि २४ वर्षीय हादी माटरले आक्रमण गरेका हुन् । उनलाई तत्काल प्रहरीले नियन्त्रणमा लिएर सुरक्षाकर्मीले अनुसन्धान थालेका छन् । आक्रमणको कारण स्पष्ट नभएको उनीहरूले बताएका छन् ।

आक्रमणपछि तत्काल हेलिकप्टरबाट अस्पताल पुर्‍याइएका रूस्दीको भेन्टिलेटरमा राखेर उपाचार भइरहेको छ । कलेजो र पाखुराको नशा काटिएका उनले एउटा आँखाको ज्योति गुमाउन सक्ने उपचारमा संलग्न चिकित्सकले बताएका छन् । आक्रमणकारी १० देखि १५ पटकसम्म चक्कु प्रहार गरेको थियो । घाउ गम्भीर भए पनि त्यो निको हुनसक्ने प्रकृतिको भएको चिकित्सकले बताएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *