माओवादीको चिन्हबाटै चुनाव लड्ने बाबुरामको तयारी

नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच एउटै चुनाव चिन्ह र घोषणापत्रमा चुनाव लड्ने विषयमा गृहकार्य सुरु भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेसपाका अध्यक्ष बाबुराम भट्टराई यस विषयमा सहमति नजिक पुगेका छन्।

दुवै अध्यक्षले यस विषयमा सम्बन्धित दलमा आन्तरिक छलफल पनि शुरु गरेका छन् । उनीहरुले समाजवादी केन्द्र बनाउन पहिलो कदमको रुपमा एउटै चिन्ह र घोषणापत्रमा चुनाव लड्ने तयारी गरेका हुन् ।

२०७२ सालमा संविधान जारी भए लगत्तै भट्टराईले माओवादी केन्द्रले नयाँ परिस्थितिको राजनीति गर्न परित्याग गरेका थिए ।

प्रचण्डले नेपाल समाजवादी पार्टीसँग साझा चुनाव चिह्न र घोषणापत्रमा निर्वाचन लड्ने सहमति भएको र आ–आफ्नो पार्टीमा सहमति जुटाएर औपचारिक रूपमा टुंग्याउन लागिएको ‘ब्रिफिङ’ निकट नेताहरूसँग गरेका छन्।

यो र अन्य विषयमा छलफल गर्न अध्यक्ष प्रचण्डले पार्टी स्थायी कमिटी बैठक बोलाउने तयारी गरेका छन् ।

साझा चुनाव चिह्नका लागि निवेदन दिने विषय टुंगिन बाँकी रहेकाले माओवादी केन्द्र र नेपाल समाजवादी पाटीले अझै निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएका छैनन् ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम दुई वा सोभन्दा बढी दलले एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताको निवेदन दिन सकिने व्यवस्था छ । यसैलाई आधार मानेर माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी साझा निर्वाचन चिह्नमा चुनाव लडन् सक्छन् । ऐनमा निर्वाचित हुने उम्मेदवारको हकमा सबैभन्दा बढी सिट पाउने दलको नामबाट एक मात्र संसदीय समिति बन्ने व्यवस्था छ ।

यसैगरी निर्वाचित सदस्य सोही संसदीय दलको सदस्य भएको मानिने ऐनले व्यवस्था गरेको छ। दुई संसदीय दल रहन नपाउने व्यवस्थाले उनीहरू बीच एकतामा जानैपर्ने बाध्यता हुन्छ ।

पाँचदलीय गठबन्धनभित्र रहेका वाम समाजवादी पार्टीले उपगठबन्धन बनाउने गृहकार्य गरेका थिए ।

कांग्रेसबाहेक माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाबीच उपगठबन्धन बनाउने गृहकार्य सम्भव नभएपछि दाहालले भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र गौतमको नेकपा एकता अभियान पार्टीसहितको मोर्चाको तयारी थालेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *