राजपत्र अनंकित कर्मचारीको आन्दोलन : कार्यालयमै प्लेकार्ड लगाएर काम गर्दै

चालु आर्थिक वर्षको बजेटमा गरिएको घोषणाविपरीत असमान ढंगले तलब वृद्धि गरिएको विरोधमा आन्दोलनरत राजपत्र अनंकित निजामती कर्मचारीले आइतबारदेखि देशभरका सरकारी कार्यालयमा आफ्ना माग लेखिएका प्लेकार्ड लगाएर काम थालेका छन् । समान ढंगले तलब वृद्धिका साथै अन्य विभिन्न नारा र माग लेखिएका प्लेकार्ड लगाएर राजपत्र अनंकित नायब सुब्बा र सोभन्दा तल्लो तहका कर्मचारीले काम थालेका हुन् ।

आफ्ना मागहरू संघीय निजामती सेवा ऐनमा समावेश गरी जतिसक्दो चाँडो निजामती सेवा ऐन जारी गर्न सरकारलाई दबाबस्वरूप यस प्रकारको आन्दोलन थालिएको ‘निजामती सेवामा राजपत्र अनंकित संरक्षण अभियान’का अभियन्ता एवं नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय सचिव प्रकाश भट्टराईले बताए । उनका अनुसार यस प्रकारको आन्दोलन सोमबार पनि जारी रहनेछ ।

आइतबारदेखि राजपत्र अनंकित कर्मचारीले ‘माननीय ज्यू, नायब सुब्बालगायतका अनंकित कर्मचारीको वृत्ति विकास खोइ?’, ‘काम गर्दा सधैं नासु, तर झार्नुपर्ने सधैं आँसु ?’ ‘राजपत्रांकित तृतीय श्रेणीको पदपूर्तिमा खुला ५० प्रतिशत, बढुवा ३० प्रतिशत, १० प्रतिशत आन्तरिक प्रतिस्पर्धा र १० प्रतिशत र अन्तरतह प्रतिस्पर्धा कायम गरियोस्’, ‘तहगत प्रणाली लागू गरियोस्’, ‘योग्यता पुगेका राजपत्र अनंकित कर्मचारीले पनि सहसचिव र उपसचिव पदमा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरियोस्’लगायतका नारा र माग लेखिएका प्लेकार्ड लगाएर काम सुरु गरेका छन् ।

सोमबारसम्म आफ्ना माग सुनवाइ नभएमा उत्पन्न परिस्थितिको मूल्यांकन एवं समीक्षा गरी थप सशक्त आन्दोलनका कार्यत्रक्रम गर्ने चेतवानीसमेत निजामती सेवामा राजपत्र अनंकित संरक्षण अभियानले दिएको छ।

चालु आर्थिक वर्ष २०७९/०८० देखि लागू हुने नयाँ तलबमानमा आफूहरूलाई विभेद गरिएको भन्दै राजपत्र अनंकित कर्मचारीले विरोध जनाउँदै आएका छन् । बजेट भाषणमा १५ प्रतिशत तलब वृद्धिको घोषणा भए पनि अधिकृतदेखि माथिका कर्मचारीहरूको तलब त्योभन्दा बढीले बढाउने तर राजपत्र अनंकित नासु र सोभन्दा तल्लो तहका कर्मचारीको तलब १५ प्रतिशतमात्रै बढाउने गरी अर्थ मन्त्रालयले मन्त्रिपरिषद्मा सिफारिस गरेको सार्वजनिक भएपछि नासुहरू आन्दोलित बनेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर