भरतपुर कारागारमा कैदीबन्दीको कन्तबिजोग : त्रिपालमुनि राख्नु परेपछि अन्यत्र स्थानान्तरण

भरतपुर कारागार, चितवनमा कैदीबन्दी सुत्ने ठाउँको अभावमा त्रिपालमुनि राख्नु परेपछि उनीहरूलाई स्थानान्तरण गरिएको छ । क्षमताभन्दा अधिक संख्यामा कैदीबन्दी रहेपछि उनीहरूलाई स्थानान्तरण गरिएको हो ।

कारागारका प्रमुख कमलप्रसाद आचार्यका अनुसार २८० जनाको क्षमता रहेको कारागारमा ७६५ कैदीबन्दी रहेका थिए । तीमध्ये दुई आश्रित बालिका छन् । कारागारभित्र नअटेपछि उनीहरूलाई बरण्डामा त्रिपाल टाँगेर राखिएको थियो । आचार्यका अनुसार निकै कठिन भएपछि ४६ जनालाई मकवानपुरको भीमफेदी, दुई जनालाई परासी र तीन जनालाई वीरगञ्ज कारागार स्थानान्तरण गरिएको छ । उनीहरूलाई पठाएसँगै हाल त्रिपालमुनि राख्नु नपरे पनि थपिँदै गर्दा अवस्था उस्तै हुने उनको भनाइ छ ।

कारागारको समस्याका बारेमा कारागार व्यवस्थापन विभागलाई जानकारी गराइएको आचार्यले बताए । उनले भने, ‘विभागलाई जानकारी गराएका छौं । पूर्वाधार निर्माणको विषयमा पहल भइरहेको छ ।’

अहिले कारागारमा ६७२ पुरुष र ५० महिला कैदीबन्दी छन् । २५५ पुरुष कैदीबन्दी र २५ महिला कैदीबन्दी राख्ने क्षमता भए पनि उक्त कारागारमा कैदीबन्दीको चापका कारण सुत्न समस्या भएको उनको भनाइ छ ।

कारागारमा छिमेकी जिल्लाबाटसमेत कैदीबन्दी ल्याएर राख्ने गरेका कारण संख्या बढ्दै गएको आचार्यले बताए । विषेशगरी नवलपुर र मकवानपुरबाट यहाँ कैदबन्दी ल्याइन्छ । उपचारका लागिसमेत बाहिरी जिल्लाबाट कैदीबन्दी चितवन ल्याउने गरेका कारण चाप बढेको हो । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसहित ठूला अस्पताल यहाँ भएकाले बिरामी कैदीबन्दीलाई स्थानान्तरण गरेर भरतपुर पठाउने गरिन्छ ।

कारागार कार्यालयमा कैदीबन्दीको चाप बढेसँगै सरुवा रोगको संक्रमण फैलन सक्ने देखिएकाले उच्च सावधानी अपनाइएको आचार्यले बताए । बाहिरबाट ल्याइएका कैदीबन्दीलाई एक हप्ता क्वारेन्टिनमा राखेर मात्रै अरूको सम्र्पकमा जान दिइने उनले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर