विदेशमा आकर्षक रोजगारीको प्रलोभन देखाएर ठगी गर्ने दुई जना पक्राउ

विदेशमा आकर्षक रोजगारीको प्रलभोन देखाएर ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–२९ सामाखुशी बस्ने इलामको इलाम नगरपालिका–१ नारायणटार घर भएका ३७ वर्षीय प्रकाश राई र काठमाडौंको टोखा बस्ने सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–७ खाडिचौर घर भएका २७ वर्षीय अविनाश कार्की छन्। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो।

प्रहरीका अनुसार राईले बेलायत पठाइदिन्छु भन्दै ५ जनाबाट जनही ३ लाखका दरले १५ लाख रुपैयाँ ठगी गरेका थिए। राईले सिजनल भिसामा बेलायत जानको लागि ९ लाख रुपैयाँ लाग्ने, बेलायत पुगेपछि प्रतिष्ठित एग्रिकल्चर कम्पनीमा काम लगाइदिने र त्यहाँ काम गर्दा मासिक ४ लाख रुपैयाँसम्म तलब हुने प्रलोभनमा पारेर ठगी गरेको प्रहरीले जनाएको छ। ठगीपछि सम्पर्कविहीन उनी सिनामंगल, शम्भुमार्गबाट पक्राउ परेका हुन्।

यस्तै कार्कीले दैलेख दुल्लु घर भएका एक पुरूषलाई वर्किङ भिष्सामा दुबई जानको लागि ७ लाख ५० हजार रुपैयाँ लाग्ने, दुबई पुगेपछि प्रतिष्ठित कम्पनीमा आर्मस् गार्डको काम लगाइदिने र त्यहाँ काम गर्दा मासिक १ लाख रुपैयाँसम्म तलब प्रलोभनमा पारेर ७ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोप छ। ठगीपछि फरार उनी गोंगबुबाट पक्राउ परेका हुन्।

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर