प्रहरी–स्थानीय झडपपछि थाम्बुचेतको सुरक्षा व्यवस्था कडा

उत्तरी रसुवाको थाम्बुचेतमा प्रहरी तथा गतलाङबासीबीच भएको झडपपछि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

गोल्जुङ र चिलिमेका बासिन्दासरह अतिप्रभावित किसिमको जल विद्युत् शेयर पाउनुपर्छ भन्ने माग राख्दै आन्दोलनमा उत्रेका गतलाङवासी र प्रहरीबीच आइतबार झडप भएको थियो । आन्दोलनरत पक्षले विद्युत् आयोजनाका सवारी साधन तथा कार्यालयको भौतिक संरचना तोडफोड गर्न थालेपछि दुई पक्षका बीचमा झडप भएको हो ।

झडप हुँदा दुई प्रहरी निरीक्षकसहित आठ जना प्रहरी घाइते भएका थिए । घाइते हुनेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक÷एक प्रहरी निरीक्षकसहित तीन सशस्त्र प्रहरी र तीन नेपाल प्रहरी रहेका छन् ।

स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका संयुक्त सुरक्षा बलले अश्रुग्याँस प्रहार र फाइरिङ गरेका थिए ।
अहिले स्थिति सामान्य रहेको र बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीले जानकारी दिए ।

‘अहिले स्थिति सामान्य छ,’ जैसीले पर्दाफासलाई भने, ‘प्रशस्त सुुरक्षाकर्मी परिचालन गरेर घटनास्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।’
स्थानीयवासीले सञ्जेन जलविद्युत्को थाम्बुचेतस्थित कार्यालय तथा ग्यारेज परिसरमा प्रवेश गरी टिपर एक, हाइलक्स छ, लोडर दुई, छवटा मोटर साइकल अफिस, तथा टेबुल कुर्सीसमेत तोडफोड गरेका जनाइएको छ ।

७५ लाख रुपैयाँ बराबरको भौतिक संरचना क्षति भएको प्रारम्भिक अनुमान गरिएको र क्षतिको यकिन तथ्यांक निकाल्ने काम भइरहेको जिल्ला प्रहरी प्रवक्ता विष्णुप्रदीप बत्स्यालले जानकारी दिए । स्थिति नियन्त्रणको क्रममा पाँच गतलाङका बासिन्दा पक्राउ परेका छन् ।

आन्दोलनरत गतलाङवासीको मागलाई साञ्जेन जलविद्युत्का आयोजना प्रमुख र सञ्जेन जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशकसमेतका कम्पनी बोर्डका पदाधिकारीसमेतले बेवास्ता गरी प्रहरीसँगको झडप गराउने स्थिति सिर्जना गराएको स्थानीयको आरोप छ । साञ्जेन जलविद्युत् कम्पनीमा जिम्मेवार कर्मचारीले मात्र एकाधिकार निर्णय गरी आफूहरूलाई उपेक्षा गरेको गतलाङवासीको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारी जैसीले प्रशासनमार्फत समन्वय गरी स्थानीयहरूको माग सम्बोधनको प्रयास हुने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर