काठमाडौंमा सवारी नियम उल्लंघन गर्ने ११८ जना विद्यार्थी ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक नियम उल्लंघन गर्ने ११८ जना विद्यार्थीहरूलाई कारबाही गरेको छ।

सोमबार बिहान सञ्चालन गरिएको कलेजका विद्यार्थीलक्षित ट्राफिक चेकजाँच अभियानमा उनीहरूले ट्राफिक नियम उल्लंघन गरेको भेटिएको हो । दुईपांग्रे सवारी साधन सवार उनीहरूलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

चेकजाँचमा सवारी चालक अनुमतिपत्र नभएका ६१ जना, सवारी दर्ता किताब नभएका ३९ जना र तीन जना सवार सात जना विद्यार्थीहरू कारबाहीमा परेका छन्। त्यस्तै हेल्मेट नलगाई सवारी चलाउने एक जना र अन्य ट्राफिक नियम उल्लघंन गर्ने १० जना विद्यार्थीलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको गत वर्षको तथ्यांक हेर्ने हो भने काठमाडौं उपत्यकाभित्र १० हजार ७३३ वटा सवारी साधन दुर्घटना भएका छन्। जसमध्ये ८ हजार ३६४ वटा दुईपांग्रे सवारी साधन छन्। सवारी दुर्घटनामा परी १९१ जनाको मृत्यु हुँदा २ पांग्रे सवारी दुर्घटनामा मात्रै १ १७ जनाको मृत्यु भएको छ । जसमध्ये ५८ जना पैदल यात्रीको समेत सवारी दुर्घटनामा परेर मृत्यु भएको छ ।

मृत्यु हुनेमा अधिकांश १७ वर्षदेखि ३५ वर्षसम्मको उमेर समूहका दुईपांग्रे सवारी साधन प्रयोगकर्ता रहेको एसपी भट्टले बताए। यसरी सबैभन्दा धेरै दुर्घटनामा पर्नेमा दुईपांग्रे सवारी साधन देखिएकाले दुर्घटना न्युनीकरण गर्नको लागि ट्राफिक प्रहरीले विशेष अभियान नै चलाएर नियम उल्लघंन गर्नेलाई कारबाही सुरु गरेको उनको भनाइ छ।

काठमाडौंमा ट्रापिक प्रहरीले स्कुललक्षित चेकिङलाई कडाइ गर्दै लगेको छ। साउन ८ गतेदेखि स्कुलका गाडी चेकिङलाई अभियानकै रूपमा सञ्चालन गरेको उसले आइतबारसम्म नियम उल्लंघन गर्ने ११७ चालकलाई कारबाही गरिसकेको छ। जसमध्ये २२ जना चालकले मदिरा सेवन गरेर गाडी चलाउने गरेको भेटिएको छ।

उपत्यकामा नाम चलेकै स्कुलका गाडी चालकसमेत एकाबिहानै मदिरा सेवन गरेर गाडी चलाउने गरेको अवस्थामा भेटिएका छन्।सोमबारदेखि भने विद्यार्थीलक्षित चेकिङ पनि सुरु गरिएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *