नागरिकता विधेयक अध्ययन गरेर अघि बढ्छ : सञ्चारमन्त्री कार्की

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नागरिकता विधेयक अध्ययन गरेर अघि बढाइने बताएका छन् ।

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सिट बाँडफाँट कार्यदलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सो विधेयक आइतबार साँझ पुनर्विचारका लागि संघीय संसद्मा फिर्ता पठाएकी थिइन् । ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा नेपालको संविधानबमोजिम नागरिकता प्राप्तिसम्बन्धी विषयमा संघीय संसद्बाट पुनर्विचार हुन आवश्यक देखिएकाले’ भन्दै राष्ट्रपतिले फिर्ता पठाएकी हुन् ।

सोमबार सरकारका प्रवक्ता कार्कीले अब नागरिकता विधेयक अध्ययन गरेर अघि बढाइने बताए ।

त्यस्तै सिट बाँडफाँट कार्यदलको बैठकले चाँडोभन्दा चाँडो आफ्नो गृहकार्य पूरा गर्नका निमित्त कामलाई व्यवस्थित रूपले अघि बढाएको जनाएको छ । मन्त्री कार्कीले सिट बाँडफाँटको मापदण्ड बनाउँदा वि.सं. २०७४ सालको निर्वाचनमा प्राप्त मतहरू, समानुपातिक मत र २०७९ सालमा स्थानीय निर्वाचनमा प्राप्त गरेको मतलाई आधार बनाउने बताए ।

उनले नेकपा (एकीकृत समाजवादी) ले २०७४ सालमा निर्वाचनमा प्रतिस्पर्धा नगरेकोले त्यसलाई विशिष्ट रूपमा राख्दै मापदण्ड तय गर्ने बताए । उनले सिट बाँडफँटको टुंगो सकेसम्म आउँदो बुधबारसम्म सक्ने लक्ष्य रहेको बताए । उनले सकेसम्म बाँडफाँट कार्यादलकै बैठकबाट मिलाएर सिटको टुंगोको बारेमा नेतृत्वमा प्रतिवेदन दिने मनसाय रहेको बताए ।

मन्त्री कार्कीले सरकारले कसैकोविरुद्ध पनि गठबन्धन नगरेको भन्दै गठबन्धनमा आउन चाहनेलाई सकारात्मक रूपमा कुरा अघि बढाएको बताए । सिट बाँडफाँट कार्यदलको बैठक बुधबार अपराह्न ४ बजे बस्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर