ट्राफिक प्रहरीद्वारा चोरी भएका १६ मोटरसाइकल र ९ स्कुटर फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबार उपत्यकाका विभिन्न स्थानबाट हराएका २५ ओटा दुईपांग्रे सवारी साधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडाैं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमबीच १६ ओटा मोटरसाइकल र ९ ओटा स्कुटर सम्बन्धित धनीहरूलाई प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरिक्षक राजेन्द्रप्रसाद भट्टले हस्तान्तरण गरेका हुन् ।

उपत्यका र उपत्यका आसपासको इलाकामा विशेष सूचना संकलन गरी अपरेशनमा गएर मोटरसाइकल तथा स्कुटरहरू बरामद गरी चोरीमा संलग्न मानिसहरूलाई समेत पक्राउ गरी आवश्यक कारबाहीका लागी विभिन्न प्रहरी कार्यालयहरूमा पठाउने गरेको प्रहरी वरिष्ठ उपरिक्षक भट्टले बताए । हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएको तर स्वयं सवारी धनी पनि विशेष चनाखोका साथै सजग र जिम्मेवार भई सुरक्षित स्थानमा मात्र पार्किङ गर्ने, अतिरिक्त लक तथा सुरक्षाका उपायहरूको प्रयोग गर्ने गरे यो समस्या धेरै हदसम्म नआउने उनको भनाइ छ ।

गत आर्थिक वर्ष २०७७/०७८ मा ४ सय १९ ओटा, २०७८/०७९ मा ५ सय ६ र यही साउन महिनाभरि ६८ ओटा दुई पांग्रे सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको र ९९ जना चोरीमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान एवं कारबाहीको लागि विभिन्न प्रहरी कार्यालयहरूमा पठाएको समेत ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सवारी साधन हराएको थाहा पाउनासाथ ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा फोन गरेर जानकारी दिन तथा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन ट्राफिक प्रहरी कार्यालयले अनुरोध गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर