बागमती प्रदेश प्रहरीको वार्षिक कार्ययोजना सार्वजनिक

चालु आर्थिक वर्ष २०७९/०८० मा बागमती प्रदेश प्रहरीको जिम्मेवारी क्षेत्रमा सम्पादन गरिने कार्यहरूलाई प्रभावकारी बनाई यस प्रदेशको समग्र शान्ति सुरक्षा, अपराध रोकथाम तथा अनुसन्धानलगायत प्रहरीको दायित्व निर्वाहलाई व्यवस्थित र परिणाममुखी बनाउन तयार गरिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको ‘बार्षिक कार्ययोजना, २०७९’ सार्वजनिक गरिएको छ ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौडामा मंगलबार आयोजित एक कार्यक्रमका बीच बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले उक्त कार्ययोजना सार्वजनिक गरेका हुन् । आर्थिक वर्ष २०७९/०८० मा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले विभिन्न १२ वटा प्राथमिकताका क्षेत्र/लक्ष्यहरू निर्धारण गरी १०० वटा क्रियाकलाप/सूचकमा रही कार्य सञ्चालन गर्ने वार्षिक कार्ययोजनामा उल्लेख गरिएको छ ।

कार्ययोजना सार्वजनिक कार्यक्रममा मन्तव्य व्यक्त गर्दै प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्यले नवनिर्मित कार्ययोजनाको प्रमुख लक्ष्य भनेको विगतमा कार्यसम्पादनको क्रममा देखिएका कमीकमजोरीहरूलाई सुधार गर्दै प्रदेश प्रहरीको भूमिका र जिम्मेवारीलाई जवाफदेही, पारदर्शी र व्यावसायिक बनाउनुका साथै सेवा प्रवाहलाई प्रणालीबद्ध एवम् निर्देशित तवरले सञ्चालन गरी आफ्नो जिम्मेवारी क्षेत्रलाई शान्त र सुरक्षित बनाउने रहेको बताए । कार्ययोजना संगठन सञ्चालनको मेरुदण्ड भएको बताउँदै प्रदेश प्रहरी प्रमुख बज्राचार्यले आमनागरिकले विश्वास र भरोसा गर्न योग्य प्रहरी निर्माणमा कार्ययोजनाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

नेपाल प्रहरी संगठनको लक्ष्य प्राप्ति सामूहिक कार्यबाट मात्र सम्भव हुने बताउँदै बज्राचार्यले संवेदनशिल भई तोकिएको जिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए । सम्पूर्ण प्रहरी कर्मचारीहरूले कार्ययोजना अध्ययन गरी मासिक, त्रैमासिक र अर्धवार्षिक रूपमा चेक लिष्ट बनाई कार्य गर्नुपर्ने उनको भनाइ छ ।

कार्ययोजनाको उद्देश्यमाथि प्रकाश पार्दै प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले पहिचान गरिएका प्राथमिकताका क्षेत्रहरू र त्यसले तोकेका गतिविधिहरू तोकिएकै समयमा सम्पन्न गर्नुपर्ने बताए ।

यस आर्थिक वर्षमा बागमती प्रदेश प्रहरी कार्यालयले निर्धारण गरेका प्राथमिकताहरूमा शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन, अपराध अनुसन्धान तथा नियन्त्रण, ट्राफिक व्यवस्थापन एवं दुर्घटना न्यूनीकरण, मानवस्रोत एवम् प्रशासनिक व्यवस्थापन, भौतिक पूर्वाधार र अन्य स्रोत साधन व्यवस्थापन, आर्थिक अनुशासन र पारदर्शिता, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढीकरण, मानव अधिकार संरक्षण र सम्वर्द्धन, विपद् व्यवस्थापन र प्रतिकार्य, आन्तरिक सुपरीवेक्षण तथा गुनासो व्यवस्थापन, कर्मचारी उत्प्रेरणा तथा कल्याणकारी कार्यक्रम सञ्चालन र विभिन्न नवीनतम तथा रचनात्मक कार्यक्रमको सञ्चालन रहेका छन् ।

यिनै प्राथमिकतामा आधारित रहेर बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले विभिन्न एक सय वटा क्रियाकलाप सञ्चालन गर्नेछ । जसमा डिजिटल चेकपोइन्ट निर्माण, सीसीटीभी जडान, हातहतियार बरामद तथा पक्राउ, घरेलु मदिरा नष्ट, संघीय निर्वाचन विशेष सुरक्षालगायतका क्रियाकलापहरू सञ्चालन गरिनेछ । यसैगरी दुर्घटना न्युनीकरण तथा सवारी व्यवस्थापनका लागि रिफ्रेस सेन्टर निर्माण, सवारी साधनमा लेखिएको लेख रचना मेटाउने र तोकिएको क्षेत्रमा मात्र सवारी पार्किङ गर्ने व्यवस्था मिलाउने रहेको छ ।

सामुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत समुदाय–प्रहरी साझेदारी समिति पुनर्गठन गर्ने, सचेतना कार्यक्रम, नागरिक सुनुवाइ, प्रहरी शिक्षक, विद्यार्थीसँग प्रहरी, व्यवस्थित नागरिक सहायता कक्ष, विभिन्न व्यक्तिसँग छलफल र अन्तक्रिया, मानव अधिकारसम्बन्धी प्रशिक्षण कार्यलगायतका गतिविधि सञ्चालन गरिने कार्ययोजनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर