मधेस प्रदेशमा फरेन्सिक ल्याब स्थापना गर्छौं : मन्त्री साह

मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले अपराध अनुसन्धानका लागि प्रदेशमा फरेन्सिक ल्याब स्थापना गरिने बताएका छन् ।

मधेस प्रदेश प्रहरी कार्यालयको आयोजनामा जनकपुरधाममा सुरु भएको प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा उनले अपराध अनुसन्धानलाई अझ बढी वैज्ञानिक र भरपर्दाे बनाउन प्रदेशमा फरेन्सिक ल्याब स्थापना गरिने बताए ।

प्रदेश सरकारको नीति तथा कार्यक्रममा फरेन्सिक ल्याब निर्माण गर्ने निश्चित गरिसकेकोले सरोकारवालासँग आवश्यक परामर्श गरेर ल्याब स्थापनाको काम अघि बढाउने बताउँदै मन्त्री साहले ल्याब स्थापनापश्चात् अपराध अनुसन्धान प्रक्रियामा अझ नयाँपन आउने बताए । प्रविधिमैत्री अनुसन्धान प्रक्रिया अघि बढाउन आग्रह गर्दै उनले त्यसका लागि प्रदेश सरकारले आफूसँग भएको स्रोतसाधन लगानी गर्न प्रतिबद्ध रहेको बताए ।

साइबर क्राइम र लागुऔषध मधेस प्रदेशका लागि प्रमुख चुनौती रहेको उल्लेख गर्दै उनले साइबर क्राइम र लागुऔषध नियन्त्रणका लागि ठोस नीति अंगीकार गर्नुपर्ने बताए । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षाकर्मीलाई निर्देशन दिँदै उनले यसका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको बताए ।

कार्यक्रममा नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले अन्य प्रदेशको तुलनामा मधेश प्रदेशका जिल्लामा जघन्य अपराध, तस्करी र साइबर अपराधको घटना प्रमुख समस्याका रूपमा देखा परेको बताए । साइबर अपराधको मुद्दा दर्ता गराउने ठाउँ काठमाडौंमा मात्र भएकाले सेवाग्राहीलाई सास्ती भइरहेको भन्दै उनले प्रदेशस्तरमा पनि साइबर अपराधको मुद्दा दर्ता र मुद्दा हेर्ने विशेष इजलास गठन गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अक्तिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले करिब ८० प्रतिशत अपराधका घटना चिनेजानेका र आफन्तबाट हुने गरेको देखिएको बताए । उनले अपराधको प्रकृति र प्रविधिमा आएको परिवर्तनले अपराध अनुसन्धानमा चुनौती थपिएको उल्लेख गर्दै परम्परागत अपराध अनुसन्धान पद्धतिबाट माथि उठ्नुपर्ने आवश्यकता औंल्याए ।

मधेस प्रदेशका जिल्लामा अपराध अनुसन्धान अवस्था र सुधार गर्न सकिने पक्षका बारेमा छलफल गरी ठोस र साझा एजेण्डा तय गर्ने उद्देश्यले आयोजित गोष्ठीमा प्रदेशका आठवटै जिल्लास्थित नेपाल प्रहरीका प्रहरी अधिकृतहरूको सहभागिता थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर