पूर्वसैनिक र पूर्वलडाकु मिलेर समूह नै खडा गरी डकैती

काठमाडाैंमा पूर्व नेपाली सैनिक र पूर्व माओवादी लडाकु मिलेर डकैतीकाे सञ्जाल विस्तार गरेकाे पाइएकाे छ।

नेपाली सेनाका भगौडा सिपाही र माओवादीका पूर्वलडाकु मिलेर डाँका समूह नै खडा गरी डकैती गर्ने गरेको तथ्य प्रकाशमा आएको हो।  चोरी डकैतीको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेका व्यक्तिको विगत केलाउँदा यस्तो उक्त विषय बाहिरिएकाे हाे।

अपराध अनुसन्धान कार्यालयले डकैती गरेको आरोपमा उपत्यकाका विभिन्न ठाउँबाट ३ जनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–७ का ३८ वर्षीय रामसिंह तामाङ, मकवानपुरको बागमती गाउँपालिका–८ का ३८ वर्षीय दिलबहादुर सिङतान, मकवानपुरकै बकैया–५ का ३५ वर्षीय सुशील भनिने बाबुलाल थिङ छन्।

उनीहरूमध्ये रामसिंह नेपाली सेनाका भगौडा सिपाही रहेका खुलेको छ। उनी यसअघि मानव बेचविखन तथा ओसार पसारको कसुरमा १० वर्ष जेल बसेर छुटेका पाइएको छ। उनी २०७४ सालमा जेलमुक्त भएका थिए। त्यस्तै अर्का व्यक्ति दिलबहादुर भने माओवादीका पूर्वलडाकु रहेको पाइएको छ। उनी ललितपुरमा श्रवण खड्को हत्या गरी डकैती गरेको मुद्दामा ९ वर्ष जेल बसेर छुटेका व्यक्ति रहेका खुलेको छ।

दिलबहादुर र रामसिंहको नख्खु कारागारमा बस्दा चिनजान भएको थियो। जेलमा बसेकै बेला छुटेपछि लुट्ने योजना बनाएका उनीहरुले जेलबाट निस्केपछि १० जनाको डाँका समूह नै बनाएर काठमाडौं उपत्यकामा डकैती गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

यो समूहले काठमाडौं उपत्यकामा दिउँसै लुटपाट गर्दै आएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता कृष्ण कोइरालाले बताए। जबरजस्ती घरमा प्रवेश गर्ने र मान्छेहरुलाई नियन्त्रणमा लिएर नगद तथा सुन चाँदीका गरगहनाहरु लुटपाट गर्दै आएका पाइएको छ।

साउन २४ गते दिउँसो साढे १२ बजेतिर मात्रै यो समूहले कीर्तिपुरस्थित नारायण बस्नेतको घरमा डकैती गरेको थियो। जबरजस्ती घरभित्र प्रवेश गरेर हतियार देखाउँदै मान्छेलाई नियन्त्रणमा लिएर उनीहरुले डकैती गरेको एसपी कोइरालाले बताए।

पछिल्लो केही सयममै यो समूहले उपत्यकाका ३ स्थानमा डकैती गरेको खुलेको छ। उपत्यकाबाहिर पनि एक ठाउँमा डकैती गरेको पाइएको छ। यो समूहले मान्छेलाई नियन्त्रणमा लिने, मुखमा टेप लगाउने, प्रहरी हौं भन्दै खानतलासी गर्ने, अवैध सुन लुकाएर राखेको छस् भन्दै धम्की दिने गरेको पाइएको छ।

डकैती गर्नुभन्दा २/३ अगाडि घरको रेकी गर्ने, मान्छेको आवतजावतबारे जानकारी लिने र टिभी पुरानो छ भने भित्रको सामान बहुमुल्य हुन्छ, २ लाखसम्म आउँछ भन्दै घरभित्र प्रवेश गर्ने र मान्छेलाई नियन्त्रणमा लिएर डकैती गर्ने गरेको एसपी कोइरालाले बताए।

पक्राउ परेकाहरूबाट १ लाख ४२ हजार १०५ रुपैयाँ बरामद भएको छ। लुटपाटमा प्रयोग भएको खुकुरी, फलामको रड, मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ।

पक्राउ परेकाहरूमध्ये रामसिंह र दिलबहादुरलाई प्रहरी वृत्त कीर्तिपुर र बाबुलाललाई प्रहरी वृत्त बौद्ध पठाइएको छ। यो समूहमा १० रहेको बताइए पनि अन्य व्यक्ति भने अहिलेसम्म फरार छन्। १० जनाको समूहमध्ये ७ जना पटके लुटेरा भएको र ३ जना भने नयाँ सदस्य रहेको प्रहरीले जनाएको छ।

कीर्तिपुरमा भएको लुटपाटमा भने ६ जना संलग्न रहेको खुलेको छ। यही समूहले गत असार २० गते काभ्रेको बनेपास्थित सलामसिंह लामाको घरमासमेत डकैती गरेको थियो। यस घटनामा संलग्नमध्ये एक मिलन तामाङलाई इलाका प्रहरी कार्यालय बनेपाले पक्राउ गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर