गत वर्ष १० खर्ब ७ अर्ब रेमिट्यान्स भित्रियो

गत आर्थिक वर्ष २०७८/०७९ मा १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ बराबरको विप्रेषण आप्रवाह भएको छ । यो कुल चार दशमलव आठ प्रतिशत बराबरको वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

केन्द्रीय बैंकले सो आवको बुधबार सार्वजनिक गरेको विवरणअनुसार अपेक्षित रूपमा नै विप्रेषण आप्रवाह भएको हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह नौ दशमलव आठ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह दुई दशमलव दुई प्रतिशतले वृद्धि भई आठ अर्ब ३३ करोड पुगेको छ ।

अघिल्लो आवमा यस्तो आप्रवाह आठ दशमलव दुई प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रूपमा वृद्धि भई तीन लाख ५४ हजार छ सय ६० पुगेको छ । अघिल्लो आवमा यस्तो संया ६२ दशमलव आठ प्रतिशतले घटेको थियो ।

त्यसैगरी वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा गत आवमा १९८ दशमलव पाँच प्रतिशतले वृद्धि भई दुई लाख ८२ हजार चार सय ५३ पुगेको छ । अघिल्लो आवमा यो सङ्ख्या ४६ दशमलव आठ प्रतिशतले घटेको थियो ।

समीक्षा वर्षमा खुद ट्रान्सफर चार दशमलव तीन प्रतिशतले वृद्धि भई ११ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर नौ दशमवल एक प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *