इन्डोनोसियाको ७७औं स्वतन्त्रता दिवसमा काठमाडौंमा झण्डोत्ताेलन

गणतन्त्र इन्डोनेसियाको ७७औं स्वत्रन्त्रता दिवसको अवसरमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आईएमई कम्पेक्स परिसर, पानीपोखरी, काठमाडौंस्थित कार्यालयमा झण्डोत्ताेलन गरिएको छ ।

कार्यालयको प्राङ्गणमा बुधबार बिहान आयोजित एक कार्यक्रमबीच नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्यदूत एवम् आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले इन्डोनेसियाको झण्डोत्ताेलन गरेका हुन् ।

कार्यक्रममा अवैतनिक वाणिज्यदूत ढकालले इन्डोनेसियाको ७७औँ स्वतन्त्रता दिवसका अवसरमा शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सुमधुर सम्बन्ध रहेको र आगामी दिनमा यसलाई जनस्तरसम्म पुर्‍याउन आफूले प्रयास गरिरहेको बताएका छन् ।
उनले दुई देशबीचको आपसी व्यापार तथा अनुभव आदानप्रदानले दुवै देशका जनता तथा सरकारले फाइदा लिन सक्ने प्रशस्त सम्भावना रहेकाले यो सम्बन्धलाई आगामी दिनमा अझ प्रगाढ र मजबुद बनाउनुपर्नेमा जोड दिए ।

नेपाल र गणतन्त्र इन्डोनेसियाबीच सन् १९६० मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपालका लागि इन्डोनेसियाको गैरआवासीय राजदूतको कार्यालय बंगलादेशको राजधानी ढाकामा रहेको छ । इन्डोनेसिया आसियान राष्ट्रहरूमध्यको सबैभन्दा ठूलो अर्थतन्त्र भएको देश हो ।

नेपाल र इन्डोनेसियाबीचको व्यापारको परिमाण पनि ठूलो रहेको छ । दुई देशबीच पर्यटनलगायत व्यापार व्यवसायका क्षेत्रमा थुप्रै सम्भावनाहरू रहेका छन् ।

झण्डोत्ताेलन कार्यक्रममा नेपालमा बसोबास गर्दै आइरहेका इन्डोनेसियन मूलका नागरिक, वाणिज्यदूत कार्यालय तथा आईएमई ग्रुपमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर